४ जेष्ठ २०८१, शुक्रबार

निको नहुदै कोरोना संक्रमितलाई घर पठाइयो



धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको आइसोलेसनमा रहेका एक कोरोना संक्रमितलाई निको नहुँदै घर पठाइएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ती व्यक्तिलाई कोरोनाका कुनै लक्षण नै नदेखिएको भन्दै घर पठाइएको बताइएको छ ।

घोडाघोडी नगरपालिकाकै आइसोलेन वार्डमा बस्दै आएका ती व्यक्तिलाई शनिबार आफनै घरको होम क्वारेण्टाईनमा बस्ने सुझाव दिंदै घर पठाइएको मेयर ममता प्रसाद चौधरीले बताए ।

‘सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमण पुष्टी भइ कुनै लक्षण नदेखिएका व्यक्तिलाई घर पठाउन पत्र पठाएको थियो’ मेयर चौधरीले भने– स्वास्थ्य निर्देशनालयको सोही पत्रलाई आधार मान्दै हामीले संक्रमितलाई घर पठाएका हौं ।

घर पठाइएका संक्रमितको एक हप्तासम्म नगरका स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने उनले बताए । ती व्यक्ति घोडाघोडीको आइसोलेसनमा १४ दिन बसेका थिए ।

‘भारतबाट आएका ३२ वर्षे संक्रमित पुरुषमा जेठ १७ गते कोरोना पुष्टि भएको थियो’ प्रमुख चौधरीले भने– ‘कोराना पुष्टि भएपछि सेती अस्पतालमा भर्नाका लागि पठाएका थियौं, तर अस्पतालले लक्षण नदेखिएको भन्दै भर्ना लिन नमानेपछि हामी आफैले स्थानीय तहको आइसोलेसनमा १४ दिन राखेर विदा गरेका हौं ।’

उता, निको नभइकन डडेल्धुराका पाँच कोरोना संक्रमितलाई घर पठाइएको छ । १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

शनिबार गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, सोही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले जानकारी दिए ।

उनीहरूलाई डडेल्धुरा सदरमुकाम स्थित अपि अस्पतालमा राखिएको थियो । जेठ ९ र १० गते भारतका विभिन्न शहरबाट आएका उनीहरूलाई सुरुमा कोरोना पोजेटिभ देखिएको थियो ।

शनिबार पाँच जना डिस्चार्ज भएसँगै डडेल्धुरामा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार