१० श्रावण २०८१, बिहीबार

प्रतिनिधि सभाबाट पारित भयो– नयाँ नक्सा समेटिएको निशान छाप



काठमाडौं । प्रतिनिधि सभाले शनिबार संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । यससंगै कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा समेटिएको निसान छाप पारित भएको छ ।

संविधानको दोस्रो संशोधन विधेयकमाथिको पक्षमा प्रतिनिधि सभाको शनिबारको बैठकमा उपस्थित २५८ जना सांसदले मत दिए । संविधान संशोधन विधेयकको विपक्षमा कुनै मत परेन । नेपालको नयाँ नक्साको विपक्षमा रहेकी समाजवादी पार्टीका सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन् । उनी मत विभाजन प्रक्रिया शुरु हुनुअघि नै संसदबाट बाहिरिएकी थिइन् । सांसद गिरीले प्रतिनिधि सभामा दर्ता गराएको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन् ।

नेपाल सरकारले नेपालको वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो ।

नेपालको संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची (३) मा नेपालको निशान छाप रहेको छ । संविधानको निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन । सरकारले ती क्षेत्र समेटेर गत जेठ ७ गते नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

त्यस्तै, सरकारले जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो । सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार