सुदूरपश्चिममा शनिबारै थपिए ६४ कोरोना संक्रमित, देशभर ५३९९ जनामा संक्रमण
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/04/91826904_120886666213584_1150889315060940800_n-768x576.jpg?resize=720%2C540&ssl=1)
धनगढी- शनिबार सुदूरपश्चिममा थप ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार साँझ ५ बजे विज्ञप्ति जारी गर्दै प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङका जिल्लामा गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।
यीमध्ये सबैभन्दा बढी डडेल्धुरामा २४, कञ्चनपुरमा २१, कैलालीमा ११, बझाङमा पाँच र डोटीमा तीन जनामा कोरोना पुष्टि भएको जनाइएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ।
यसअघि प्रदेशमा सोमबार पनि ३७ जना कोरोना संक्रमित पुष्टि भएका थिए। सोमबारभन्दा २७ जना बढी शनिबार संक्रमित पुष्टि भएका हुन्।
![](https://i0.wp.com/nepallive.com/elFinder-2.1.51/files/seti%20hospital.jpg?w=720&ssl=1)
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ९९ पुगेको छ। यसअघि दिउँसो ४ः१५ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले ५ हजार ३ सय ३५ जना पुगेको जानकारी दिएका थिए। त्यसबेला उनले सुदुरपश्चिमा साँझ ५ बजे पुष्टि भएका ६४ संक्रमितको तथ्यांक समावेश गरेका थिएनन्।