१२ बैशाख २०८१, बुधबार

निस्वार्थ सेवामा जुटेको कोलाबोरेटिभ्स



धनगढी । ‘आउनुहोस ! आउनुहोस ! हाम्रो यहाँ खानाको व्यवस्था गरिएको छ । घर परिवारसंग सम्पर्क गर्नका लागि टेलिफोनको व्यवस्था गरिएको छ’ बिहिबार माइकमा रोयल कोलाबोरेटिभ्सका संयोजक गजेन्द्र शाही कञ्चनपुरको डोकेबजारमा आवाज लगाइरहेका थिए ।

भारतबाट फर्किएका व्यक्तिहरूका लागि रोयल कोलाबोरेटिभ्स नामक समुहले निःशूल्क खाना तथा पानी खुवाउन जेठ ९ गतेदेखि कञ्चनपुरको डोकेबजारमा क्याम्प स्थापना गरेको छ ।

भारतबाट कैलालीको त्रिनगर नाका हुँदै आएका नेपालीसीहरूका लागि प्रदेश सरकारले खाना तथा बासको व्यवस्थापन गर्न नसकेपछि जनस्तरबाटै सहयोग गर्ने उद्देश्यले २१ दिनदेखि सो समुह सहयोगमा जुटेको छ ।

डोकबजारमा डोरीले सीमाना बनाएर खाना तथा खानेपानी वितरण भइरहेको छ । सो समुहले सामाजिक दूरी कायम गर्दै उनीहरूका लागि खाना र पानीको व्यवस्था गरिएको जनाएको छ ।

समुहका संयोजक गजेन्द्रले भने– भारतबाट फर्केका सुदूरपश्चिमबासीहरू भोकै बस्न बाध्य भएको सुनेपछि हामीले यो सानो प्रयास गरेका छौं । उनीहरूले २१ दिनदेखि शुरु गरेको खाना तथा पानी वितरण कार्यमा विभिन्न संघ/संस्था र व्यक्तिबाट सहयोग प्राप्त भइरहेको उनले बताए । उनले शुरुमा दुई/तीन जनाको सहयोगमा शुरु गरेको क्याम्पमा अहिले सहयोगी हातहरू थपिदै गएको बताए ।

समुहका सदस्य देवेन्द्र जोशीले अहिलेसम्म ५८ हजार प्लेट खाना वितरण गरिसकेको जानकारी दिए । उनले भने– हामीले प्लेटको हिसाव राख्छौं । त्यसका आधारमा ५८ हजार प्लेट गएको देखिन्छ । उनले विभिन्न संघसंस्था तथा व्यक्तिबाट नगद नभई रासनमात्र सहयोग लिने गरेको बताए ।

उनका अनुसार अहिलेसम्म सिएनएन हिरो २०१५ न्यागी डोयन, रुडुकका संस्थापक आरजु राणा देउवा, निसर्ग अस्पताल र अस्पतालका संचालक तिर्थ पन्त, नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक नितेश कनौडियाको टीम र कलेज, टेक बोगटी, अनिल भुजनिया, धनगढी उपमहानगरपालिका लगायतले सहयोग गरेको छ ।

गजेन्द्र र देवेन्द्रसंगै सो समुहका दिनेश शाह, इन्द्र विनाडी, रचित शाह सेवामा खटिएका छन । देवेन्द्रले भने– शुरुमा हामीलाई सहयोग गर्न पनि कोही आएका थिएनन । इन्द्र, दिनेश र रचितको साथ र सहयोगले थप मद्दत पुग्यो ।

उनीहरू अहिले भारतबाट आएका सुदूरपश्चिमबासीलाई खाना खुवाउँदा एकदमै खुशी देखिन्छन । गजेन्द्रले भने– ‘हामीले चर्चा पाउन यो काम गरेका होइनौं । हामी यस प्रदेशवासीका हरेक समस्यामा सहयोग गर्न अघि बढ्छौं ।’

कोलाबोरेटिभ्स समुहले कोरोना महामारीकै समयमा रक्तदान, विद्यार्थीहरूलाई राहत, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न सहयोग लगायतका गतिविधि गरेको छ । १० दिनसम्म सञ्चालन गरिएको रक्तदानमा एक सय ५४ बढीले रक्तदान गरेका थिए । उनीहरूले दुइ सय ५७ सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, अण्डा, नुन, तेल, आलु वितरण गरेका थिए भने चार सय विद्यार्थीहरूलाई खाद्यान्न राहत वितरण गरेका थिए ।

कोलावोरेटिभ्सले डोकेबजारमा निःशुल्क खाना तथा पानी वितरण गर्न लागेपछि सुदूरपश्चिम फाउण्डेसनले पनि त्यसको चार दिनपछि कर्भडहलमा भान्सा सञ्चालन गरि डोकेबजारमा खाना वितरण गर्न शुरु गरेको थियो ।

दिदिवहिनी महिला समुह युकेको पनि सहयोग

दिदिवहिनी महिला समुह यूकेले कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरूलाई एक हप्तासम्म खाना खुवाउने भएको छ ।

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरूले लकडाउनका कारण भोकभोकै आएपछि सीमामा निशुल्क खाना खुवाउदै आएको रोयल कोलाब्रोटिम्भस मार्फत एक हप्तासम्म खाना खुवाईने भएको हो ।

दिदी वहिनी महिला समुह यूकेले पहिलो चरणमा एक लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डाक्टर रण बहादुर रावलको पहलमा खाना खुवाउने काम सुरु भएको छ ।

डाक्टर रावलले दिदिवहिनी महिला समुह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदि वहिनीहरूले पठाएको पैसामा करिब ८ हजार नेपाली नागरिकलाई खाना खुवाउन सकिने बताए । खाना खुवाउने सहयोग सुरुवातदेखि लागिरहेको रोयल कोलाब्रोरेटिभ्सका युवाहरूले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार