३ जेष्ठ २०८१, बिहीबार

कोरोना संक्रमित होम क्वारेन्टाइनमा



डडेल्धुरा । डडेल्धुराका कोरोना संक्रमितहरूलाई विद्यालय तथा होम क्वारेन्टाइनमा राखिएको छ । जेठ २६ गते कोरोना पोजेटिभ देखिएका छ जना संक्रमितहरूलाई सम्बन्धित पालिकाको विद्यालयमा राखिएको छ । नवदुर्गा गाउँपालिकामा तीन जना संक्रमित रहेका छन् । उनीहरूलाई बेलापुरस्थित गौडेश्वर माविको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै, परशुराम नगरपालिकामा रहेको तीन जना संक्रमितलाई सिद्धनाथ मावि बेत्रानीमा राखिएको छ । अमरगढी नगरपालिका वडा नम्बर ५ मा संक्रमित एक १८ वर्षीय युवती आफनै घरमा होम क्वारेन्टाइनमा बसेकी छन् ।

जेठ २३ गते गन्यापधुरा गाउँपालिकामा पाच जना व्यक्तिमा संक्रमण देखिएको र उनीहरूलाई जेठ २४ गते अपि अस्पताल डडेल्धुरामा ल्याएर राखिएको छ ।

कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य खालका औषधीहरू गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले नै उपलब्ध गराउन सक्ने र संक्रमणको जोखिम बढे एम्बुलेन्स मार्फत थप उचारका लागि जिल्ला पठाउने गरी विद्यालयमा राखिएको नवदुर्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र भट्टले बताए ।

जोगबुडा अस्पतालमा आइसुलेशन कक्ष एउटै मात्र रहेको र आरडीटी पोजेटीभ व्यक्तिहरूलाई राति पनि अस्पताल लगि उपचार गर्नुपर्ने भएकोले कोरोना संक्रमितहरूलाई सिद्धनाथ मावि बेत्रानीमा राखिएको छ । विद्यालयको एउटा कोठामा ५ बेड रहने गरी आइसुलेशन वार्ड निर्माण गरिएको परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत धामीले बताए । उनले भने, ‘सामान्य औषधी र एक जना हेल्थ असिस्टेन्टको निगरानीमा विद्यालयमा राखेका छौँ ।’

स्थानीय तहहरूले एकातिर आरडिटी परिक्षण गर्दै १० दिनमै क्वारेन्टाइनबाट घर पठाइरहेका छन् भने अर्कातिर संक्रमितहरूलाई सुरक्षित आइसुलेशन वार्डमा पठाउन नसक्दा कोरोनाको भयावह हुने संकेत देखिन्छ । विद्यालयका कक्षा कोठामा संक्रमितहरूलाई आइसोलेनशका नाममा राख्नु स्थानीय सरकारको गैरजिम्मेवारीपन भएको स्ववियु सभापति जगत ऐरले बताए । उनले भने, ‘संक्रमितहरूलाई विशेष आईसोलेशन कक्षमा राखेर चौविसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनु पर्ने हो, पोषणयुक्त आहारको व्यवस्थापन गरिनु पर्ने हो तर आईसोलेशनका नाममा विद्यालयका चिसा कोठाभित्र राख्ने काम गैर मानवीय हो ।’

नेपाल सरकारले केही दिनअघि नयाँ निर्देशिका जारी गरेको र निर्देशिका अनुसार कोरोना संक्रमणको थप लक्षण नदेखिएसम्म होम आइसोलेशनमा बस्न सक्ने व्यवस्था भएकोले लक्षण नदेखिएका तर कोरोना संक्रमण व्यक्तिहरूलाई होम आइसोलेशनमा राखिएको डडेल्धुरा जिल्लाका लागि कोभिड–१९ सम्पर्क व्यक्ति भेक्ट्रोलकन्ट्रोल सुपरभाइजर हरि प्रसाद भट्टले बताए । उनले भने, ‘लक्षण नदेखिएका व्यक्तिहरू होम आइसोलेशन बस्दा घरको कोठा भन्दा विद्यालयका कक्षाकोठाहरू बढी सुरक्षित हुने भएकाले यसरी राखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार