सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/04/91826904_120886666213584_1150889315060940800_n-768x576.jpg?resize=602%2C452&ssl=1)
धनगढी । सुदूरपश्चिममा चार दिनको शिशुसहित एकै दिन २७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बिहीवार धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराकी चार दिनको शिशु सहित २७ जनामा कोरोना संक्रमण देखिएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनको शिशुसहित नौ जना पुरुष र आठ जना महिला तथा त्रिवेणी नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
योसँगै बाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । यसअघि बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
त्यसैगरी कैलालीमा सात, बझाङमा दुई जनामा पनि कोरोना संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ । योसँगै सुदूरपश्चिमका नौ जिल्लामा गरी एक सय ९१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
![](https://i1.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/06/103971879_148526060116311_7366880651831475679_o.jpg?ssl=1)