२२ बैशाख २०८१, शनिबार

आरडीटी परीक्षण रोक्न माग गर्दै धर्ना



धनगढी । धनगढीका युवाहरूले कोरोना रोग पत्ता लगाउन प्रयोगमा ल्याइएको आरडीटी किट प्रयोग बन्द गर्न माग गर्दै सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् ।

आरडीटी विधी विश्वसनीय नरहेको र त्यसको भरपर्दा समुदायमा कोरोना महामारी फैलने खतरा रहेको भन्दै युवाहरूले आरडीटी परिक्षण बन्द गर्न माग गर्दै बुधबार मुख्यमन्त्री कार्यालयअघि धर्ना दिए ।

विश्व स्वास्थ्य संगठनले नै आरडीटी परीक्षण विश्वसनीय नभएको प्रमाणित गरेको अवस्थामा नेपालमा अझै पनि प्रयोग गरिएको भन्दै युवाहरूले तत्कालै सो हटाएर पिसीआर विधीबाट स्वास्थ्य चेकजाँच गर्न माग गरे ।

‘इनफ इज इनफ’ फेसबुक पेजमा पोष्ट गरिएको ‘आरडीटी विधी बन्द गराउन दबाव’ लाई हेरेर आफुहरू स्वःस्फुर्त रुपमा मुख्यमन्त्री कार्यालय अगाडी पुगेको धनगढी वडा नम्बर २ का गौरभ कुँवरले बताए ।

‘स्वास्थ्य चेकजाँच नगर्ने, अनि लकडाउन बढाएर जनतालाई घरमा थन्काउने सरकारको प्रवृत्तिका कारण कोरोनाको महामारी बढ्दै गएको छ’ उनले भने– विश्वसनीय नभएको आरडीटी विधीबाट स्वास्थ्य चेकजाँच बन्द गर्नुपर्दछ । रोग नियन्त्रण गर्न पिसिआर विधीको अधिक प्रयोग गर्दै प्रयोगशालाको क्षमता बढाउनु पर्छ भन्ने हाम्रो माग हो ।

गौरीफण्टा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नागरिक भित्रिरहदा सुदूरपश्चिम प्रदेशमा २÷३ सयको मात्रै पिसीआर स्वास्थ्य चेकजाच हुने गरेको भन्दै किरन बमले सरकार जनताको स्वास्थ्य प्रति गम्भीर बनोस भनेर धर्ना दिएको बताए ।

युवाहरूले ‘कि सुरक्षा निर्वाह गर, होइन भने मरिरहेका जनताको जिमेवारी लेउ । जनता कोरोनाले हैन, लापरवाहीले मर्दैछन् । सरकारले जिम्मेवारी पुरा गरे हाम्रो साथ छ । नागरिकलाई भौकै मार्न पाईदैन । आवश्यक स्वास्थ्य सामग्री ल्याउ । र्यापिट टेष्ट बन्द गर’ लेखेका पम्प्लेट बोकेर धर्ना दिएका थिए ।

‘इनफ इज इनफ’ फेसबुक पेज मार्फत संयोजन गरेका विनोद देउवाले जनता कोरोनाको महामारीसंगै भोकले मरिरहेका बेला प्रदेश सरकार निष्कृय बनेका कारण धर्ना कार्यक्रम आयोजना गरिएको बताए ।

उनीहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार