१५ बैशाख २०८१, शनिबार

स्थानीय तह पीसीआर मेसिन खरिद गर्दै



बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकाले कोरोना परीक्षणका लागि आफैंले पिसिआर मेसिन खरिद गर्ने भएको छ । कोरोना परीक्षणका लागि प्रयोग गरिने आरडिटी परीक्षणको रिपोर्ट भरपर्दो नभएको र यसले जनतामा अझ त्रास र भ्रम थपिएको भन्दै नगरपालिकाले पिसिआर मेसिन खरिदका लागि रकम विनियोजन गरेको छ ।

नगरपालिकाले पीसिआर मेसिन खरिदका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । जिल्लामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरेर पीसिआर विधिबाट परीक्षण गर्न धनगढी पठाइने गरेको छ ।

नगरपालिका प्रमुख दीपकबिक्रम शाहले धनगढीबाट पिसिआरको रिपोर्ट आउन निकै समय लाग्ने र लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन बसेका व्यक्तिले मानसिक सास्ती भोग्नु परिरहेको बताए ।

नगर प्रमुख शाहले भने– एकातिर आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरूले क्वारेन्टाइन बस्नु परिरहेको छ, अर्कोतिर समयमै पिसिआरको रिपोर्ट नआउदा उनीहरूबाट अरुमा पनि कोरोना संक्रमण फैलिने सम्भावनाका कारण मानिसमा त्रास बढ्ने गरेको छ । त्यसैले हामीले स्थानीय स्तरमै पीसिआर विधिबाट जा“च हुने गरि मेसिन खरिदका लागि रकम विनियोजन गरेका छौं ।

नगर कार्यपालिकाले असारको पहिलो साताभित्र पिसिआर मेसिन खरिद गरि बाजुरा जिल्ला अस्पताललाई व्यवस्थापन गर्न जिम्मा दिने निर्णय गरेको छ । नगर प्रमुख शाहले भने– यदि बाजुरा जिल्ला अस्पतालले व्यवस्था गर्न नसके छिमेकी जिल्ला अछामको बयालपाटा अस्पताललाई जिम्मा दिने सोच बनाएका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार