१० श्रावण २०८१, बिहीबार

रुकुम घटनाः न्यायका लागि जारी आन्दोलनमा राजनीतिककर्मीहरूको ऐक्यवद्धता



धनगढी । रुकुम पश्चिममा छ जनाको हत्या भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले धनगढीमा गर्दै आएको अनिश्चितकालीन धर्नामा राजनीतिक दलहरूले ऐक्यवद्धता जनाएका छन् ।

धनगढीको पार्कमोडमा अनिश्चितकालीन धर्ना शुरु भएको छैठौं दिन दलहरूले ऐक्यवद्धता जनाएका छन् ।

धर्नामा ऐक्यबद्धता जनाउँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले मानव सभ्यतामाथि नै प्रश्न उठ्ने गरी भएको रुकुम पश्चिमको घटना निन्दनीय भएको बताए । उनले सो घटनाको विरोधमा हुने आन्दोलनमा आफनो समर्थन रहेको बताए ।

नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बहादुर बमले घटनामा संलग्नहरूको खोजी गरी कारवाही गर्न माग गरे । उनले छुवाछुत र जातीय विभेद मुक्त राष्ट्रमा एक समुदायले जातकै आधारमा अर्को समुदाय माथि गर्ने विभेद सह्य नहुने बताए ।

नेकपाका नेता तथा पूर्व सांसद हरि श्रीपाइलीले समतामुलक समाजका लागि संघर्ष गरेको भनिएकाहरूबाटै रुकुम पश्चिममा घटना भएकोले सो घटनामा संलग्नहरू माथि हदैसम्मको कारवाही गर्न माग गरे ।

नेपाल दलित संघका नेता नृप सुनारले राज्य संयन्त्र नै रुकुम पश्चिम घटनाका दोषीहरूलाई बचाउन लागि परेको आरोप लगाए ।

जातिय उत्पीडित मुक्ति समाज कैलालीका अध्यक्ष चक्र बिकेले रुकुम पश्चिमको घटनाका दोषीहरू माथि कानूनी कारवाही नहुँदा आन्दोलन जारी राख्नुपर्ने बताए । ।

रुकुम पश्चिम सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न माथि कानूनी कारवाही, मृतकहरूलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारका सदस्यहरूलाई क्षतिपिुर्तिको माग राखेर संयुक्त दलित संघर्ष समिति सुदुरपश्चिम समिति धनगढीले जेठ २० गतेदेखि धनगढीमा अनिश्चितकालीन धर्ना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार