१० श्रावण २०८१, बिहीबार

कोरोना कहरसंगै औलोको जोखिम



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणसंगै औंलोको जोखिम पनि बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशमा औलोको जोखिम पनि क्रमशः बढ्दै गएको जनाएको छ ।

शनिबार प्रदेशको डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेका एक जनामा कडा खालको पी फाल्सीफारम नामक औलो देखापरेको छ । डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार यसअघि डडेल्धुरामा कसैमा पनि कडा खालको औलो देखिएको थिएन । सम्पर्क व्यक्ति भट्टले भने– डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकमा औलो देखिएको छ । ती युवकलाई औलोको औषधी दिइएको छ । अरु व्यक्तिमा सर्न नदिन स्वास्थ्य परीक्षण भइरहेको छ । उनका अनुसार ती युवक भारतको सुरत शहरबाट फर्किएका हुन् ।

यसअघि कञ्चनपुरको लालझाँडी गाउँपालिकामा दुई र शनिबार कृष्णपुर नगरपालिका देखतभुलीमा एक जनामा गरि तीन जनामा औलो देखिएको थियो । लालझाँडी र कृष्णपुरका ती युवक पनि भारतबाट फर्किएको बताइएको छ ।

लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका दुई जनामा औलो रोग देखिएपछि औषधी सेवन गराइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए । दुवै जना औलो संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका अनुसार चालू आर्थिक वर्षमा कञ्चनपुरमा ८३ जनामा औलो देखिएको छ । ती मध्ये २७ जना स्थानीय रहेका थिए । उनले भने– आयातित औलोंको जोखिम जिल्लामा बढ्दै गएको छ ।

नेपालको सबैभन्दा बढी औलो रोगीहरू सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार ‘प्रदेशमा स्थानीय भन्दा भारतबाट फर्किएका व्यक्तिहरूमा औंलो रोगको बढि संक्रमण देखिएको छ ।’

स्वास्थ्य निर्देशनालयका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ५३ जनामा औलो रोगको संक्रमण देखिएको छ । जसमा कडा खालको मानिने पी फाल्सीपारम औलोंका २१ जना संक्रमित रहेका छन् । त्यस्तै, दुई सय ३१ जनामा ‘भाइभ्याक्स’ जिवाणु र एक जनामा दुवै किसिमका संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । चालू आर्थिक वर्षमा ३१ हजार नौ सय दुई जनाको रगत परीक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७५/७६ मा चार सय ५९ औलोका संक्रमित फेला परेका थिए । जसमा कडा खालको औलोंका संक्रमित १२ जना रहेका थिए । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा पाँच सय ८६ जना औलोका विरामी फेला परेका थिए ।

वर्षातको समयमा विभिन्न सरुवा रोगको संक्रमण फैलिने खतरा बढी हुन्छ । यो मौसममा खासगरी लामखुट्टेको टोकाइबाट देखिने रोगहरू देखिने गर्छ । लामखुट्टेको टोकाइबाट डेंगु, मलेरिया र स्क्रिपटाइ्फस आदिको समस्या देखिने गर्छ ।

आरडिटिसंगै औलोको परीक्षण गर्न निर्देशन

अहिले भारतका विभिन्न स्थानबाट सुदूरपश्चिम प्रदेशबासीहरू फर्किने क्रम जारी छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण तथा रोकथाम गर्न उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका केही जिल्लामा कोरोनासंगै अन्य रोगको पनि परीक्षण गरिदै आएको छ ।

डडेल्धुरा र कञ्चनपुरका चार जनामा औलो देखिएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आरडिटीसंगै औलोको पनि परीक्षण गर्न सबै स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ ।

‘सुदूरपश्चिम प्रदेशममा भारतबाट फर्किने व्यक्तिहरूमा औलो रोगको संक्रमण देखिएको र आयातित औलो रोगीहरूको अनुपात आधा भन्दा बढी रहेको छ’ निर्देशनालयले सबै स्वास्थ्य संस्थाहरूलाई पठाएको पत्रमा भनिएको छ– क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरूमा औलो आरडिटी जाँच गर्दा डडेल्धुरा जिल्लामा अत्यन्त कडा खालको पि फाल्सीपारम औलो देखा परेकोले औलो रोगको संक्रमण समुदाय स्तरसम्म फैलिनबाट रोक्न र समयमै रोगीलाई पहिचान गरि उपचार गरेर मृत्यु हुनबाट बचाउन औलो रोगका लागि अनिवार्य आरडिटी जाँच गर्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार