१० श्रावण २०८१, बिहीबार

सरकारको निर्णय मान्न बाध्य नहुने वन पैदवार व्यवसायीको चेतावनी



धनगढी । काठ व्यवसायीहरुको छाता संगठन पर्यावरण संरक्षण एवम् वन पैदवारव्यवसायी संघ कैलालीले काठ तथा वनपैदवार संकलन तथा ओसारपसारमा रोक लगाएकोमा आपत्ति जनाएको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्णय नसच्याएमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । सरकारले राष्ट्र, जनता र व्यवसायीको हितमा वन पैदवारको बैज्ञानिक संरक्षण तथा व्यवस्थापनका लागि दुरगामी निर्णय गर्नेमा विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष जोनकुमार शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा कहिंकतै गलत भइरहेको शंका भएमा त्यसलाई दीर्घकालीन रुपमा पारदर्शी बनाउन सरोकारवालाहरु संलग्न आयोग बनाई छानविन गरी कारबाही गर्न माग गरिएको छ । पटक पटक रोक लगाउने र खोल्ने गर्दा नीतिगत भ्रष्टाचार मात्रै मौलाउने विज्ञप्तिमा लेखिएको छ ।
सरकारले पहुँचवालाहरुको प्रभावमा परेर उत्तेजना र आवेगमा निर्णय गरेको भन्दै व्यवसायीहरु सो निर्णय मान्न नसक्ने चेतावनी संघले दिएको छ । सरकारका सो निर्णयले अर्बौंको राजश्व घाटा, व्यवसायी पलायन हुने र ठूलो संख्यामा रोजगारी गुम्ने संघले जनाएको छ । सरकारको निर्णयको कारणले वनको अबैध कारोबार र अबैज्ञानिक फडानीको अवस्था सिर्जना हुने भन्दै संघले निर्णय सच्याउन माग गरेको छ । यो निर्णयले गर्दा बैदेशिक काठ र आल्मुनियमको आयात प्रोत्साहन भई ठूलो पुँजि पलायत हुने संघले दावी गरेको छ । संघले सरकारको निर्णयबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी लिन समेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार