१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिने क्रम जारी



कोरोनाबाट थप एकको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमित थपिने क्रम जारी छ । प्रदेशमा शनिबार १७ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक सय नौ पुगेको छ ।

कोरोना संक्रमणबाट सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ । शनिबार धनगढीकी एक ५५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सेती प्रादेशिक अस्पताल, प्रयोगशालाले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबार गरिएको परीक्षणमा प्रदेशको कैलाली, डडेल्धुरा, अछाम, कञ्चनपुर र बझाङ तथा काठमाडौंका चार महिला र १३ पुरुष गरी थप १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

सेती प्रादेशिक अस्पतालका अनुसार बझाङ र कैलालीका छ÷छ जना थपिएका छन् भने काठमाडौंका दुई तथा अछाम, कञ्चनपुर र डडेल्धुराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका ५५ वर्षीया महिला, गौरीगंगा नगरपालिकाका २७, १८, १६ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, बझाङको खप्तडछान्ना गाउँपालिकामा छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै बझाङमा संक्रमितको संख्या सात पुगेको छ । बझाङमा कोरोना पुष्टि हुनेमा २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा दुई जना ४० वर्षीया महिला रहेका छन् । उनीहरूमध्ये पाच जना भारतको नयादिल्लीबाट एक साताअघि कैलालीको त्रिनगर भन्सार नाका भएर आएका थिए भने एक जना दुई साताअघि काठमाडौंबाट बझाङ आएका थिए ।

त्यसैगरी कञ्चनपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा एक जना कञ्चनपुरका र दुई जना काठमाण्डौंका रहेका छन् । अछाममा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा गरिएको परीक्षणमा महाकाली नगरपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुष तथा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९ का १८ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा अछामको मंलसेन नगरपालिका वडा नम्बर १ की ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, डडेल्धुरामा एक सुत्केरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ड डाक्टर जगदिश बिष्टले नवदुर्गा गाउ“पालिका वडा नम्बर ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि गरे ।

उनी जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी थिइन । उनको २२ गते स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते अस्पतालमा शिशु जन्माएकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा ५०, अछाममा १५, कञ्चनपुरमा १३, बझाङमा आठ, डडेल्धुरामा सात, बैतडी र डोटीमा छ÷छ, बाजुरामा तीन र दार्चुलामा एक गरी सुदूरपश्चिममा संक्रमितको संख्या एक सय नौ पुगेको छ ।

यस्तै प्रदेशमा हालसम्म १८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

कोरोनाबाट थप एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । युुंगै प्रदेशमा कोराना भाइरस संक्रमणका कारण एक साताको अवधिमा दुई जनाले ज्यान गुमाएका छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी कैलालीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार अस्पतालको डायलोसिस वार्डमा ज्यान गुमाएकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । लामो समयदेखि मृगौला रोगबाट पीडित उनी पहिलो पटक डायलोसिस गराउनका सेती प्रादेशिक अस्पताल पुगेका थिइन् ।

डायलोसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलोसिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा उनमा कोरोना पुष्टि भएको हो ।

मृतक महिलामा कोरोना पुष्टि भएसंगै अस्पतालको डायलसिस वार्ड सिल गरिएको छ ।

यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो ।

मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बाजुरा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार