१० श्रावण २०८१, बिहीबार

अनुमति नलिएरै औषधी वितरण गर्दै



धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केही संस्थाले अनुमति नलिएरै कोरोना रोगका नाममा औषधी वितरण गरिरहेको पाइएको छ । कुनै पनि संस्थाले स्वास्थ्य सिविर सञ्चालन गर्दा अथवा स्वास्थ्य सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा सम्वद्ध निकायबाट अनु्मति लिनुपर्ने स्वास्थ्य ऐनले व्यवस्था गरेको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद र मारवाडी सेवा समिति नेपालले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आर्सेनिक अल्वम ३० सी नामक औषधी वितरण गरिरहेको बताइएको छ । यो औषधी रोग प्रतिरोधात्मक क्षमता बृद्धिमा प्रयोग हुने गरेको बताइन्छ । मारवाडी परिषद र मारवाडी सेवा समितिले कोरोना रोग विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन यो औषधी वितरण गरिएको जनाएको छ ।

कैलाली स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले हाल कैलालीमा स्वास्थ्य शिविर तथा स्वास्थ्य सेवा सञ्चालनका लागि कसैले पनि अनुमति नलिएको जानकारी दिए । उनले भने–हामीबाट कसैले पनि अनुमति लिएको छैन । सम्बन्धीत स्थानीय तहको अनुमति लिएर स्वास्थ्य सेवा सञ्चालन गरिरहेको भए हामीलाई थाहा भएन ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले धनगढी उपमहागनरपालिकाभित्र यस्तो औषधी वितरण गर्न कुने पनि संस्थाले अनुमति नलिएको बताए । उनले भने– यो होमोप्याथिक औषधि भएकाले आयुर्वेदिक औषधालयबाट अनुमति लिएको भए हामीलाई थाहा भएन ।

आयुर्वेदिक औषधालय सेती अञ्चल कार्यालय प्रमुख डाक्टर खगेन्द्र बमले औषधि वितरणका लागि कसैले पनि अनुमति नलिएको बताए ।

‘यो औषधी रोग प्रतिरोधात्मक क्षमता बढाउने हो । यसलाई अहिले भारतमा पनि परीक्षा (ट्रायल) का लागि प्रयोग गरिएको छ’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका आयुर्वेदिक शाखा प्रमुख डाक्टर चेतराज जोशीले भने– ‘यो औषधि त्यसै पनि चिकित्सकको सल्लाह बिना कसैलाई पनि बिक्री वितरण गर्न पाइदैन ।’ उनले यो औषधी बिना अनुमति बिक्रीवितरण भएको पाइए रोक्न लगाइने बताए ।

कैलालीको धनगढीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा नेपाल राष्ट्रिय मारवाडी परिषद र मारवाडी सेवा समिति नेपालले सात हजारर परिवारलाई कोरोना यो औषधी वितरण गरेको जनाएको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद पश्चिम उपाध्यक्ष श्याम तायलका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सात हजार बढि परिवारलाई यो औषधी वितरण गरिएको छ । उनले आवश्यकता र मागका आधारमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा औषधी वितरण गरिने बताए ।

नेपाल राष्ट्रिय मारवाडी परिषदले आफना ३८ शाखा मार्फत देशभरी कोरोना विरुद्धको रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने होमोप्येथिक औषधी वितरण अभियान जारी राखेको जनाएको छ ।

मारवाडी सेवा समितिले धनगढीको क्याम्पस चौक, शिवपुरी धाम, हसनपुर पिपलचौतारा, भन्सार रोड र सब्जीमण्डीमा सात सय परिवारलाई यो औषधी वितरण गरेको जनाएको छ ।

त्यस्तै समितिले बिहीवार धनगढी गाउँस्थित राधा मन्दिरको पिपलचौतारा, र नैनादेवी चौकमा एक हजार दुई सय परिवारलाई वितरण गरेको थियो ।

समितिले शनिबार सन्तोषी टोल र चटकपुरमा औषधी वितरण गरेको जनाएको छ । धनगढीमा मारवाडी सेवा समितिका अध्यक्ष राजेन्द्र अग्रवालको अगुवाईमा औषधी वितरण भईरहेको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद पश्चिम उपाध्यक्ष तायलका अनुसार हालसम्म कोरोना रोकथामका लागि अग्रभागमा खटिएका छ सय प्रहरी र आठ सय ५० सशस्त्र प्रहरीलाई समेत औषधी वितरण गरिएको छ ।

त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकालाई एक हजार चार सय, गन्यापधुरा क्वारेन्टाईनका लागि एक हजार दुई सय र डडेल्धुराको अमरगढी नगरपालिकामा क्वारेन्टाईमा रहेका एक हजार दुई सय जनालाई औषधी वितरण गरिएको ह्युम्यानिटी फाउण्डेसनका अध्यक्ष समेत रहेका तायलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार