६ कार्तिक २०८१, मंगलवार

सरकारको बजेट कार्यान्वयन पक्ष अत्यन्त निराशाजनकः नेता रावल



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयन पक्ष अत्यन्त निराशाजनक रहेको आरोप लगाएका छन ।

प्रदेश सभाको नीति तथा कार्यक्रममाथि सुझाव राख्दै प्रदेश सरकारको प्रगति प्रतिवेदन हेर्दा बजेट खर्च र कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकार कोरोना संक्रमण रोकथामका लागि पूर्ण रुपमा असफल भएको बताए ।

उनले सरकारले कोरोनाको संक्रमणलाई हल्का ढंगले लिएका आरोप लगाउदै कोरोना रोकथाम र नियन्त्रणका सरकार चुकेको बताए । नेता रावलले प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि सिंगो सदन र प्रदेश सभालाई दिनुपर्ने भूमिका नदिएको गुनासो दिए ।

उनले २०७५/७६ सरकारले बनाएका योजना र बिनियोजन गरेको बजेट कार्यान्वयन गर्न नसकेकोमा सरकारको आलोचना गरे ।

नेता रावलले युवा लक्षित रोजगारको कार्यक्रम, सुपथ मूल्य पसलका लागि छुट्टाएको ७५ करोड, खाद्यान्न खरीद र भण्डारण योजना, प्रदेश खाद्य संस्थानका लागि छुट्याएको ५० करोड, प्रदेश बस सञ्चालनका लागि बिनियोजन गरिएको २० करोड कहा हरायो भन्दै सरकारलाई प्रश्न गरे ।

एउटा बस किनेर सञ्चालन ल्याउन कति वर्ष लाग्छ भनिदिनु प¥यो, सभामुख मार्फत प्रदेश सरकारलाई प्रश्न गर्दै नेता रावलले भने, प्रदेश जलविद्युत बोर्डका लागि बिनियोजन गरेको १० करोड, पर्यटन बोर्ड गठन गर्न १६ करोड ५० लाख रुपैया, खप्तड क्षेत्रमा रिङ रोड निर्माणको ६ करोड, स्वरोजगारका कोषका लागि छुट्याएको १०० करोड कहाँ गयो ?

उनले ट्रमा सेन्टर स्थापना गर्ने लक्ष्य, प्रदेश लगानी बोर्ड, प्रदेश योजना आयोग, प्रदेशमा सूचना प्रबिधि पार्क स्थापना पर्ने योजना समेत सरकारका कारण अलपत्र परेको बताए ।

उनले प्रवासबाट आएका नेपाली दाजुभाईहरुलाई राहतसंगै रोजगारीको व्यवस्था गर्न समेत प्रदेश सरकारसंग आग्रह गरे ।

नेता रावलले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सभामा सदस्यहरुलाई सरकारले वेवास्ता गरेको आरोप लगाउदै प्रदेश सभाका सदस्यहरुलाई भूमिका दिन आग्रह गरे ।

कोरोना रोकथामका लागि स्थानीय तहले गरेको भूमिकालाई प्रदेश सरकारलाई धन्यवाद दिन आग्रह गरेका नेता रावलले प्रदेश सरकार भने कोरोना रोकथाम र नियन्त्रणका लागि असफल भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार