१० श्रावण २०८१, बिहीबार

क्वारेन्टाइनमा योगाभ्यास



धनगढी । सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट आएका नागरिकलाई राखिएको स्थान क्वारेन्टाइनमै योग अभ्यास थालिएको छ ।

मानसिक रुपमा स्वस्थ बनाउन तथा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा रहेकाहरुलाई दैनिक योग अभ्यासमा सहभागी गराउन शुरु गरिएको छ ।

क्वारेन्टाइनमा रहेकाहरुलाई तनावमुक्त गर्दै उनीहरूको आत्मविश्वास बढाउने उद्देश्यले योगाभ्यास कार्यक्रम सञ्चालन गरिएको सेती अञ्चल आयुर्वेदिक अस्पतालका प्रमुख डाक्टर खगेन्द्र बमले बताए ।

उनले भने– लामो समयसम्म क्वारेन्टाइनमा बस्दा मानसिक तनाब हुनसक्छ । योगको माध्यमबाट सो तनावलाई न्यूनीकरण गर्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो कार्यक्रम सञ्चालन गरेका छौं ।

डाक्टर बमका अनुसार बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिभुवन माविमा रहेका ५३ जनालाई एक घण्टा योग प्रशिक्षण दिइएको छ । यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयूर्वेदिक औषधीसमेत वितरण गरिएको छ । उनले कैलाली लगायत सुदूरपश्चिमका अधिकांश स्थानमा योग कक्षा सञ्चालन गरी क्वारेन्टाइनमा रहेका नागरिकलाई तनाव मुक्त गर्न अभियानको थालनी गरिएको बताए ।

क्वारेन्टाइनमा योग कक्षा सञ्चालन भएसँगै त्यहाँ रहेकाहरुमा मानसिक चिन्ता कम हुने गरेको धनगढी वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले बताए । ‘हामीले क्वारेण्टाइनमा योग कक्षा सञ्चालन गर्दा त्यहा रहेकाहरुमा प्रभाव परेको छ’ अध्यक्ष ऐरले भने– ‘यो अभियान सवै क्वारेन्टाइनमा सञ्चालन गर्नु आवश्यक छ ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका क्वारेन्टाइनमा पनि योग प्रशिक्षण सुरु गरिएको छ । बाजुरा, बझाङ, अछाम लगायतका जिल्लाहरूमा स्थानीय योग प्रशिक्षकमार्फत क्वारेन्टाइनमा प्रशिक्षण दिने गरिएको छ । बझाङ जिल्लाका स्थानीय योग प्रशिक्षक मोहन मल्लले भने–‘ग्रामिण क्षेत्रमा रहेका क्वारेन्टाइनमा पनि योग अभ्यास गराउँछौं ।’

#epaper-23

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार