१० श्रावण २०८१, बिहीबार

कोरोना जितेकालाई नर्सले फूल दिइन, प्रहरीले हतकडी लगायो




कोरोना मुक्त भएका २२ वर्षीय युवालाई फूल दिएर बधाई दिदै नर्स । तस्बिरः गोकर्ण दयाल

धनगढी, जेठ २२ गते । बैतडीमा अच्चमको घट्ना भएको छ । एक जना युवाले कोरोना सङक्रमणलाई जिते । उनलाई नर्सले कोरोना जितेकोमा फूल दिनुभयो तर लगत्तै प्रहरीले हत्कडी लगाएको छ ।

कोरोना सङ्क्रमित २२ वर्षीय युवाले कोरोना जितेर उन्मुक्ती पाएको खुशीमा बैतडी जिल्ला अस्पतालकी एक नर्सले फूल दिएर शुभकामना दिदैं गर्दा युवती हत्याको आरोपमा प्रहरी हिरासत भित्र रहेका २२ वर्षीय युवा अमरसिंह साउदलाई प्रहरीले हत्कडी लगाएको हो ।


बुधबार कोरोना मुक्त हुने बित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो । बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका‐२ का हुन ।

साउद युवती हत्याको अनुसन्धनमा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । मुद्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई कारागार चलान गर्ने आदेश दिएको थियो ।


कारागार चलान गर्नुअघि कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

लकडाउनको केही दिनअघि भारतबाट फर्केका साउदको एक युवतीसङ्ग प्रेम सम्बन्ध रहेको बताइएको छ । युवती वैशाखको पहिलो सातातिर मृत अवस्थामा खोलामा फेला परेपछि युवतीका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।


वैशाख १५ गते थुनामा राख्नुअघि युवाको द्रूत परीक्षण (आरडिटी) गर्दा भने कोरोना नेगेटिभ आएको थियो । प्रहरीले लामो सयम थुनामा राखेर मुद्दाको अनुसन्धान गरेर अदालतमा पेश गर्दा अदालतले कारागार चलान गर्ने आदेश दिएपछि मात्रै युवाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्न धनगढी पठाउँदा कोरोना पुष्टि भएको थियो ।


थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी शिल गरेर थुनुवाको सम्पर्कमा आएका सबै प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।


सङ्क्रमित युवाको सम्पर्कमा आएका मुद्दा फाँटदेखि अन्य प्रहरी सबैको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


कोरोना सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवा जेठ ९ गतेदेखि २१ गतेसम्म आइसोलेसनमा थिए जिल्ला अस्पताल बैतडीका डा.वसन्तराज जोशीले जानकारी दिनुभयो ।
अस्पतालको आइसोलेसनमा रहेका युवाको पहिलो र दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट फूल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताए ।


अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै साउदलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिए ।

चन्दले भने, ‘कोरोना मुक्त भएका साउदलाई अदालतको आदेश अनुसार बुधबार नै पुर्पक्षका लागि कारागार चलान गरेका छौं ।’ कोरोना मुक्त हुँदा खुशी देखिएका युवा कारागार चलान हुँदा निराश देखिन्थे ।


यो समाचार बैतडीबाट गोकर्ण दयालले आजको गोरखापत्र दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार