८ पुष २०८२, मंगलवार

जोखिम बढ्यो, गम्भीर बन



करिब छ सातासम्म कोरोना भाइरस संक्रमणका नयाँ केस देखा नपरेकोमा अहिले एकाएक सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या दिनदिनै तीब्र गतिमा बृद्धि भइरहेको छ । मंगलबारसम्म सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा गरी संक्रमितको संख्या ७३ पुगिसकेको छ । पछिल्लो दुई सातायता भारतका विभिन्न शहर वा स्थानबाट स्वदेश फर्किने नेपालीहरुको दिनहु ता“ती लागेको छ । तर, भारतबाट नेपाल फर्किएका नेपालीहरुमध्ये निकै थोरैको मात्रै स्वास्थ्य परीक्षण गरिएको छ । बिना कुनै स्वास्थ्य परीक्षण सम्बन्धित जिल्ला तथा स्थानीय तहमा पठाइएका उनीहरुलाई निकै अव्यवस्थित ढंगले क्वारेन्टाइनमा राखिएको अवस्था छ । क्वारेन्टाइनमा राखिएका मध्ये बाजुराको एक क्वारेन्टाइनमा एक दुई वर्षीया बालिकाको मृत्यु भएकोमा मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो पटक देखापरेको नयाँ संक्रमित सबै भारतबाट फर्किएकाहरु नै रहेको पनि पुष्टि भइसकेको छ । यसले सुदूरपश्चिम प्रदेशका अधिकांस क्वारेन्टाइन “कोरोना संक्रमणको थलो” का रुपमा परिणत भएको देखिदैछ । बिना कुनै उचित प्रबन्ध हुलका हुल मान्छे क्वारेन्टाइनमा राखिएको र स्वास्थ्य परीक्षण सहित अन्य आवश्यक व्यवस्थापनको अभावका कारण यी क्वारेन्टाइन नै उच्च जोखिम केन्द्र बनेको देखिदैछ ।
सुदूरपश्चिम प्रदेशमा कुनै पनि वेला कोरोना संक्रमण थामिनसक्नु अवस्थामा पुग्ने विज्ञहरुले बारम्बार चेतावनी दिदै आएका छन् । शुरुदेखि नै भारतका विभिन्न शहर तथा नेपालकै अन्य स्थानबाट आउनेहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टाइनको उचित प्रबन्ध, उपचारको भरपर्दो व्यवस्था गर्नमा चुक हुदै आएको छ । कैयौं दिनसम्म भारतका सिमावर्ती स्थानका क्वारेन्टाइनमा निकै असुरक्षित ढंगले बसालिएका नेृपालीहरुको लगातारको आक्रोस र देशभित्र उनीहरुलाई सुरक्षित रुपमा स्वदेश ल्याउनु पर्ने चौतर्फी दबाव बढेपछि बाध्य भएर सरकारले उनीहरुलाई ल्याएको छ, तर भरपर्दो स्वास्थ्य परीक्षण बिना नै सम्बन्धित पालिकामा पठाइएको छ । र यो क्रम अझैं जारी छ । अधिकांस जिल्ला तथा स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा अहिले हजारौं मानिस निकै असुरक्षित ढंगले बसिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण, राहत, उपचार लगायतका काममा प्रदेश सरकारको भूमिकाप्रति जनस्तरमा समेत चर्को आलोचना भइरहेको छ । यद्दपि, प्रदेश सरकार अहिले पनि “सरकारले उत्कृष्ट काम गरेको” गफ दिएर आत्मरतीमा रमाइरहेको देखिन्छ ।
दिनप्रतिदिन कोरोना संक्रमितको संख्या तीब्र गतिले बृद्धि भइरहेको र क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य परीक्षणमा यो संख्या निकै बढ्ने आ“कलन गरिएको सन्दर्भमा अब अहिलेसम्म भएगरेका कमीकमजोरीलाई पाठका रुपमा ग्रहण गरेर तत्काल आगामी दिनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न प्रदेश सरकार तथा सबै स्थानीय तहहरु अग्रसर भएकै हुनु पर्दछ । क्वारेन्टाइनमा राखिएका मानिसको स्वास्थ्य परीक्षण, बास तथा खानाको उचित प्रबन्ध, उनीहरुमा सकारात्मक सोच बृद्धि गर्ने खालका कार्यक्रम, भारतबाट आइरहेका र आगामी दिनमा अझ ठूलो संख्यामा आउन सक्ने नेपालीहरुको व्यवस्थापनमा सरकार, खासगरी प्रदेश सरकारले सबै स्थानीय तहहरुसंगको बलियो समन्वय तथा सहकार्यमा प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयन गर्न तत्पर भएकै हुनु पर्दछ । अहिले एकअर्कामाथि दोष थोपरेर आफ्नो कमजोरी ढाकछोप गर्नुभन्दा पनि अहिलेसम्मका कमीकमजोरीलाई स्वीकारेर आगामी दिनका लागि उपलब्धीमुलक उपाय र कार्य अगाडी बढाएकै हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार