१० श्रावण २०८१, बिहीबार

सेतीमा बेड नभएपछि कोरोना संक्रमित भर्ना गरिएन



धनगढी । कैलालीको गौरिगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई मन्दिरको हलमा राखिएको छ ।

सुदूरपश्चिमको कोरोना डेडिकेटेड सेती प्रादेशिक अस्पतालमा वेड अभाव भएपछि पाँच जनालाई मन्दिरको हलमा राखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुदूरपश्चिममा थप २७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको थियो । जसमध्ये कैलालीका १०, कञ्चनपुरका आठ र अछामका नौ जना रहेका छन ।

कैलालीको टीकापुरमा चार, गौरिगंगा नगरपालिकाका पाँच र धनगढी उपमहानगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो । टीकापुरमा थपिएका चार जनालाई टीकापुर अस्पतालको आइसोलेसन र धनगढी ३ का ३७ वर्षिय युवाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ भने गौरिगंगा नगरपालिकाका कोरोना संक्रमितलाई भने मन्दिरको हलमा राखिएको जनाइएको छ ।

गौरीगंगा नगरपालिका प्रमुख भीमवहादुर देउवाले कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई सेती प्रादेशिक अस्पतालले वेड अभाव भएको भन्दै भर्ना नगरी फिर्ता पठाएको बताए ।

उनले भने, ‘पाँच नयाँ संक्रमित मध्ये दुईजनाको स्वास्थ्यमा समस्या देखिएको छ, ज्वरो आउने, खोकी लाग्ने र वान्ता समेत भइरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरेनन् ।’

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले २५ जना उपचाररत छन । अस्पतालमा २४ वेडको आइसोलेसन राखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले २४ शैयाको आइसोलेशनमा २५ जना संक्रमितलाई राखिएको बताए ।

उनले भने –‘थप संक्रमितको तत्काल व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’

सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार