१० श्रावण २०८१, बिहीबार

११ महिनापछि नेकपा संसदीय दलको बैठक



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलको झण्डै ११ महिनापछि बैठक बसेको छ । नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको पछिल्लो बैठक २०७६ असार १४ गते बसेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा संसदीय दलभित्र सहमति जुटाउन सो बैठक डाकिएको नेकपाका अधिकांस प्रदेश सांसदको भनाई रहेको छ । नेकपाका एक प्रदेश सभा सदस्यले भने– संसदीय दलको बैठक आवश्यकताअनुसार निरन्तर बस्नुपर्नेमा हाम्रा दलका नेतालाई यस विषयमा कुनै चासो छैन । उनले सरकारको बजेट, नीति तथा कार्यक्रममा सहमति जुटाउनका लागि मात्र संसदीय दलको बैठक आह्वान गर्ने गरिएको दाबी गरे ।

सुदूरपश्चिम प्रदेश सभाको जारी छैठौं (बजेट) अधिवेशनमा पनि सत्तापक्ष नेकपाका अधिकांस प्रदेश सभा सदस्यहरुले सरकारको कामकारबाहीप्रति तीब्र असन्तुष्टि व्यक्त गर्दै विरोध गर्ने क्रम जारी छ ।

प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त, उद्देश्य र कार्यक्रममाथिको छलफलका क्रममा नेकपाका प्रदेश सांसदहरुले नै “सरकारले जनआकांक्षा अनुरुप काम गर्न नसकेको र सरकार असफल भइसकेको” सम्मको आरोप लगाएका थिए ।

संसदीय दलको बैठक पहिलो पटक पार्टीका नेताहरुको उपस्थिति बिना नै बसेको छ । यस अघिका हरेक बैठकमा पार्टीका प्रदेश इञ्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, सहइञ्चार्ज लक्ष्मण जोशी र प्रदेश अध्यक्ष कर्णका थापाको उपस्थिति हुने गरेको थिए ।

मंगलबारदेखि शुरु भएको संसदीय दलको बैठकमा नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले संसदीय दलसित समन्वय गर्न नसकेको स्वीकार गरेको एक सदस्यले बताए ।

उनका अनुसार बैठकमा मुख्यमन्त्री भट्ट “रक्षात्मक” रुपमा प्रस्तुत भएका छन् । ती सदस्यका अनुसार बैठकमा मुख्यमन्त्रीले “सरकारको अढाई वर्षको अवधिमा पार्टी र संसदीय दलसित समन्वयमा केही कमी भएको” स्वीकारेका थिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य वीरमान चौधरीले सरकारका पछिल्ला गतिविधि सन्तोषजनक नदेखिएको र दलमा सल्लाह नगरी आफुखुशी जाने चाहना देखिएको धारणा व्यक्त गरेको ती सदस्यले बताए ।

मंगलबारको बैठकमा धारणा व्यक्त गरेका १२ जना प्रदेश सांसदहरुले सरकारको कामको समिक्षा गर्न ढिलो भइसकेको टिप्पणी गरेका थिए ।

मंगलबार दलका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कलबहादुर रावल, विषयगत समितिका सभापतिहरु नेपालु चौधरी, हर्क बहादुर कुँवर र कुन्ति जोशी तथा प्रदेश सांसद लिलाधर भट्ट लगायतले धारणा व्यक्त गरेको बताइएको छ ।

बैठकमा दलका प्रमुख सचेतक तामाङले अरु बेला जे सुकै भए पनि विपद आइलागेको बेलामा समेत सरकारले जनताले महसुस गर्नेगरी काम गर्न नसकेकोले समिक्षा गर्न जरुरी रहेको बताएका थिए । त्यस्तै, सचेतक रावलले सरकारका गलत कामकारबाहीका कारण आफुहरुलाई जनतामा जान गाह्रो परेको टिप्पणी गरेको बताइएको छ ।

त्यस्तै, सांसद लिलाधर भट्टले आफैले घोषणा गरेका कार्यक्रम समेत कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा पद ओगटेर बस्नु भन्दा छोड्नु उपयुक्त हुने धारणा व्यक्त गरेको बताइएको छ ।
बैठक आज (बुधबार) बिहान बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार