६ कार्तिक २०८१, मंगलवार

सुदूरपश्चिमका लागि यो सरकार अभिसाप छ : प्रतिपक्ष




धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सर्मीलाकुमारी पन्तले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुले कडा शव्दमा आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले नीति तथा कार्यक्रम बारे प्रतिक्रिया दिदै सो कार्यक्रम अघिल्लो वर्षकै निरन्तरता मात्रै भएको बताएका छन् । यो कार्यक्रममा खासै नयाँ कुरा केही छैन उनले भने ।

नयाँ परिस्थितिलाई सामना गर्ने गरेर अलि नौलो खालको कार्यक्रम आउछ भन्ने लागेको थियो तर त्यस्तो देखिएन नेता रावलले भने यो कार्यक्रम अघिल्लो वर्षकै निरन्तरता मात्रै हो ।

काङग्रेसकै अर्का प्रदेश सभा सदस्य भरत खड्काले कार्यकर्ता पोस्ने खालको कार्यक्रम भएको बताए । उनले नेपालको संविधान २०७२ को मर्म विपरित जनयुद्ध शव्द प्रयोग गरिएकोमा आपत्ति जनाए ।

खड्काले मुख्यमन्त्रीका नाममा चार÷पाँच वटा कार्यक्रम ल्याउनु उपयुक्त नभएको धारणा पनि राखे । यसरी मुख्यमन्त्री मात्रै जोडिएकोले कार्यक्रमको नाम नै मुख्यमन्त्री नीति तथा कार्यक्रम राख्नु पर्ने थियो उनले व्यंग्य गरे ।

नीति तथा कार्यक्रम लागू गर्न सक्ने न संयन्त्र छ न नेतृत्व र मन्त्रीहरुको त्यो क्षमता छ उनले भने सुदूरपश्चिमका लागि यो सरकार अभिसाप छ, समग्रमा यो कार्यक्रम निराशाजनक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार