१० श्रावण २०८१, बिहीबार

प्रदेश सभा सदस्यहरुले भने– सरकारको कामको समिक्षा होस



सुदूरपश्चिम प्रदेश सरकार चौथो बजेट ल्याउने तयारीमा रहेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७४/०७५, ०७५/०७६ र ०७६/७७ को बजेट ल्याइसकेको छ । अबको केही दिनमै प्रदेश सरकार आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट, नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको छ ।

प्रदेश सरकारले बजेट ल्याउने तर, त्यसको प्रगतिबारे सदनमा जानकारी नदिएपछि प्रदेश सभा सदस्यहरूले सरकारले तीन वर्षको कार्यको समिक्षा गरेर सदनलाई जानकारी दिनुपर्ने माग गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सरकारले तीन वर्षको समिक्षा गरि सदनलाई जानकारी दिनुपर्ने माग गरे । उनले भने– तीन वर्षमा प्रदेश सरकारको कति खर्च भएको छ ? के उपलब्धी भए स्वेतपत्र आउनुपर्दैन ?’ उनले प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामबारेमात्र सदनमा जानकारी गराएकोप्रति आपत्ति व्यक्त गरे । उनले प्रश्न गरे– प्रदेश सरकारले चैत अगाडिका काम किन अघि बढाउन सकेन जानकारी गराउनु पर्दैन ?’

बैठकमा प्रदेश सभा सदस्यहरु नेपालु चौधरी, देवराज पाठक, रतनबहादुर थापा लगायतले प्रदेश सरकारको तीन वर्षको प्रगति विवरण सदनमा जानकारी गराउनुपर्ने माग गरेका थिए ।

जब मन्त्री बोहरा बोल्न थाले…

आइतबारको बैठकमा प्रदेश सभाको प्रि–बजेटको छलफल सकिएपछि सदनमा उठेको प्रश्नहरुको उत्तर दिन सभामुख अर्जुनबहादुर थापाले आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई समय दिए । मन्त्री बोहराले सभामुखलाई सम्बोधन गरि योजना आयोग गठन बारे बोलिरहदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश सभा सदस्य गोविन्दराज बोहरा आफ्नो सिटबाट उठे । सांसद बोहरा आफनो स्थानबाट उठेपछि मन्त्री बोहरा बोल्न रोकिए । प्रदेश सभा सदस्य बोहराले भने– मन्त्रीज्यूले पहिलो बैठकमा बोलेका शब्द फिर्ता लिई माफि माग्नुस् । हामीले अहिले व्यवहारिक रुपमा सदन चलाएका हौं । अहिले माफि नमागेसम्म सदन चल्न दिँदैनौं ।

सांसद बोहराको भनाई पछि सभामुख थापाले भने– बोल्ने क्रममा अगाडि पछाडी भएको हुन सक्छ । उहाँ (मन्त्री बोहरा) ले ती शब्दप्रति पनि सम्बोधन गर्नेछन् तपाई शान्त भएर बसिदिनुहोस ।
सभामुखको जवाफपछि मन्त्री बोहराले पनि पहिला प्रश्नको जवाफ दिने र त्यसपछि अन्य विषयमा सम्बोधन गर्ने जानकारी दिए । उनले त्यसो भने पछि केही क्षण अवरोध भएको बैठक पुनः सुचारु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार