६ कार्तिक २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेश सभाः रुकुम घटनाबारे सदनमा व्यापक चर्चा



धनगढी । अन्तरजातीय प्रेम सम्बन्धमा छ जनाको हत्या भएको रुकुम–जाजरकोट घटनाबारे सुदूरपश्चिम प्रदेश सभामा सांसदहरूले व्यापक आवाज उठाएका छन् ।

आइतबारको प्रदेश सभा बैठकमा भाग लिएका सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरूले जाजरकोट र पश्चिम रुकुममा भएको नरसंहार घटना निकै बर्बर, अमानवीय र निन्दनीय भएको चर्चा गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न दोषिहरुलाई हदैसम्मको कानूनी कारबाहीको दायरामा ल्याउन एकस्वरमा माग गरे ।

सत्तापक्ष नेकपाका प्रदेश सभा सदस्य दुर्गा कुमारी विकले पश्चिम रुकुम हत्या घटनामा सबै प्रदेश सभा सदस्यको एउटै आवाज आएकोमा स्वागत गरिन । उनले भनिन्– यो घटनाविरुद्ध जसरी प्रदेश सभा सदस्यहरूले एकमत भएका छन त्यसरी नै सरकारले योे घटनाको सत्यतथ्य छानविन गर्दै दोषिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्दछ ।

उनले प्रदेश सरकारले प्रदेशमा छाउपडी प्रथाको अन्त्य गर्ने कार्यक्रमलाई पाथमिकतामा राख्न आग्रह गरिन । उनले भनिन– अहिले पनि काठमाडौं लगायत विश्वभरी सुदूरपश्चिम प्रदेश छाउपडी प्रथाका नाममा चिनिएको छ । हामीले अहिले यही कारणले शिर झुकाएर हिड्नुपर्ने अवस्था आएको छ । प्रदेश सरकारले छाउपडी प्रथा अन्त्यका लागि विशेष नीति, उद्देश्य र कार्यक्रम तयार गर्नुपर्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, कांग्रेसका देवराज पाठक, सत्तापक्ष नेकपाका प्रदेश सभा सदस्य नेपालु चौधरी, रतनबहादुर थापा, अम्मरबहादुर साउद लगायतले पनि पश्चिम रुकुम घटनाको सत्यतथ्य छानविन गर्न सरकारसंग माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार