१० श्रावण २०८१, बिहीबार

बाजुरामा काेराेनाबाट एक बालिकाकाे मृत्यु



-कोरोनाबाट मर्नेमा बाजुराकी बालिका सुदूरपश्चिममै पहिलो हुन

– सुदूरपश्चिममा पाँच जना काेराेना संक्रमित थपिए

-सुदूरपश्चिममा कोरोनाबाट सक्रमित हुनेको संख्या २७ पुग्यो

धनगढी । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। सुदूरपश्चिममा काेराेना संक्रमितकाे पहिलाे पटक मृत्यु भएकाे हाे ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका हुन् । ‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ,’ डा. अवस्थीले भने, ‘उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ ।’

बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो। ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए।

बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालका प्रमुख रूपचन्द्र विश्वकर्माले जानकारी दिए। ‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’ उनले भने।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यि मध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेशमा आइतबार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनगढीमा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थिले बताए ।
बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर १ की दुई बर्षिय मृतक बालिका र उनकी २३ बर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. अबस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार