१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि



पहिलो बैठकमै प्रिबजेट प्रस्तुत हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको छैठौं (बजेट) अधिवेशन आज (मंगलबार) देखि शुरु हुँदैछ । वर्षे अधिवेशन समेत भनिने यो अधिवेशनमा मुलतः सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको प्रस्तुति, छलफल र अनुमोदन हुने गर्दछ ।

कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर यो अधिवेशन सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयले अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ । प्रदेश सभा सचिव रामसिंह धामीले प्रदेश सभा कक्ष सेनिटाइज गर्ने, सभा परिसरमा मास्क, पञ्जा, सेनिटाइजर लगायतको व्यवस्था गरिएको बताए । उनले प्रदेश सभाभित्र पनि आवश्यक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको बताए ।

यसैगरी, प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, मर्यादापालक, सांसद्हरुको सवारी चालक र प्रदेश सभा बैठकको समाचार संकलन गर्ने पत्रकार गरी तीन सय जनाको पिसिआर परीक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ भएको प्रदेश सभाका सचिव धामीले जानकारी दिए । उनले सोको प्रमाणपत्र आज मंगलबार नै वितरण गर्ने र सोही आधारमा प्रदेश सभाभित्र प्रवेशको अनुमति दिइने बताए । उनले प्रत्येक दिन प्रदेश सभा कक्षमा सेनिटाइज गर्ने व्यवस्था समेत मिलाइएको बताए ।

प्रदेश सभा सचिव धामीका अनुसार मंगलबारको पहिलो बैठकमा प्रत्येक दलका प्रमुखलाई शुभकामना आदानप्रदान गर्ने समय दिने कार्यसूचि तयार गरिएको छ ।

अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रि–बजेट (बजेटको सिद्धान्त, आधार र प्राथमिकता) प्रस्तुत गर्न विशेष समय दिने कार्यसूचि बनाइएको सचिव धामीले बताए ।

प्रदेश सभा सञ्चालन नियमावली अनुसार प्रदेश सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुभन्दा एक महिनाअिघ प्रि–बजेट प्रस्तुत गर्ने र नीति तथा कार्यक्रम १५ दिन पहिले प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । तर, कोरोनाका कारण सिर्जित विषम परिस्थिति भएकाले १५ दिन पहिले प्रिबजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइएको र समय छोटो रहेकाले पहिलो बैठकमै प्रिबजेट प्रस्तुत गर्ने कार्यसूचि तयार गरिएको सचिव धामीले बताए । उनले त्यसपछिका बैठकहरुमा प्रिबजेटमाथि छलफल गरिने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको प्राथमिकतामा स्वास्थ्य, कृषि, रोजगार, उद्योगलाई राख्ने जनाइसकेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावलाई समाधान गर्ने खालका योजनाहरु अगाडि बढाइने जनाएको छ । स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने, कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने खालका योजनाहरुमा प्राथमिकताका साथ बजेट छुट्याइने बताइएको छ । कोरोनाका कारण रोजगारी तथा आयस्रोत गुमाएका प्रदेशबासीहरुलाई रोजगारी दिलाउने खालका कृषि कार्यक्रम, पुर्वाधार विकासका आयोजनाहरु र उद्योग विकासका कार्यक्रम अगाडि सारिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार