१० श्रावण २०८१, बिहीबार

मन्त्रालयबाटै कोरोनाबारे गलत सूचना



धनगढी । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्याबारे गलत जानकारी दिएपछि सुदूरपश्चिम प्रदेशमा अन्योल बढेको छ ।

सोमबार दिउँसो ४ बजेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा थप एक जना संक्रमित फेला परेको जानकारी दिएका थिए । उनले भनेका थिए– अछाम जिल्ला अस्पतालमा उपचाररत मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाले सोमबार जानकारी दिएका संक्रमित ८ गतेदेखि नै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन । आइतबार मात्रै प्रवक्ता देवकोटाले नै “सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा अछामका एक युवामा कोरोना संक्रमित पुष्टि भएको’ भनि जानकारी दिएका थिए ।

तर, प्रवक्ता देवकोटाले सोमबारको नियमित व्रिफिङमा दिएको सूचनाका कारण अछाममा त्रास फैलिएको छ । जिल्लामा त्रास फैलिएपछि स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले अछामका अस्पतालमा कोही पनि कोरोना संक्रमित नरहेको बताएका छन् । उनले भने– जिल्ला अस्पताल अछाममा मेल्लेख गाउँपालिकाका कसैलाई पनि आइशोलेसन राखिएको छैन । उनले सबैलाई त्रास दिने अभिव्यक्ति नदिन सम्बन्धित पक्षलाई अनुरोध गरे । उनले भने– हालसम्म अछाममा एक जना पनि कोरोना भाइरस संक्रमित भेटिएका छैनन् ।

आईतवार पुष्टि भएका अछामका संक्रमितको अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखि उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नियमित जारी गरेको प्रेस विज्ञप्तीमा प्रदेशमा १५ जना कोरोना संक्रमित रहेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार प्रदेशमा पाँच जना निको भएर घर फर्किसकेका छन् भने अन्य १० जनाको आइसोलेसनमा राखि उपचार भइरहेको छ ।

त्यस्तै, आइतबार बिहान संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमा प्रदेशको कोरोना संक्रमितको संख्या गलत राखेको थियो ।

संघीय मन्त्रालयले जारी गरेको रिपोर्टमा सुदूरपश्चिममा १४ जना कोरोना संक्रमित रहेको जनाएको थियो । मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी बैतडीमा सात जना र डडेल्धुरामा पाँच जना संक्रमित रहेको उल्लेख थियो । भने कैलाली र कञ्चनपुरमा एक÷एक जना संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको थियो ।

तर, सो समयमा सुदूरपश्चिम प्रदेशको कैलालीमा सात, बैतडीमा पाँच, डडेल्धुरा र कञ्चनपुरमा एक÷एक जना कोरोना संक्रमितको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार