१० श्रावण २०८१, बिहीबार

राष्ट्रियताको रक्षाका लागि डाक्टर केसी सत्याग्रहमा



डडेल्धुरा । चर्चित अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ २० गते बाट दुई दिन सत्याग्रह गर्ने घोषणा गरेका छन् ।

‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउमा ल्याउन तथा सीमाञ्चलका मानिसहरूको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौ’ विज्ञप्तिमा भनिएको छ ।

उनले वास्तवमै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर नपुग्ने बताएका छन् । ‘जुन देशलाई हामी लल्कारेर चुनौती दिन्छौं, हाम्रा नागरिक आधारभूत सेवाका लागि त्यही देशमा भर पर्नुपर्ने लाजमर्दो अवस्था रहुन्जेल कुनै राष्ट्रवादी नारा र गर्जनको अर्थ रहँदैन’, उनले भनेका छन– देशलाई जमिन मात्रै भनेर बुझ्ने शासकहरूले त्यसो गरे पनि हामी नागरिकका लागि हामीजस्तै नागरिकहरूको पीडा सह्य हुनु हुँदैन ।

प्राध्यापक डाक्टर केसीले सरकारले अझै पनि सीमाञ्चललगायतका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीप्रति यत्तिकै उदासीन रहेर राष्ट्रवादको नारा जप्छ भने त्यो नौटंकी राष्ट्रवादबाहेक केही नठहर्ने बताएका छन् । ‘देशको सीमा रक्षा गर्नु राज्यको जिम्मेवारी हो, त्यसका लागि उसले छिमेकी राज्यसित कुटनीतिक प्रयास गर्नैपर्छ । भारतले नेपालको सीमा मिच्नु उसको समेत हितमा छैन भनेर बुझाउन सरकारले सक्नुपर्छ । दुवैतिरका सरकारहरूले राष्ट्रवादका नारा उछालिरहने अनि दुवैतिरका नागरिक भोक र रोगसित लडिरहनुपर्ने अहिलेको अवस्था मुठ्ठीभर शासकबाहेक कसैको पनि हितमा छैन’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार