२८ पुष २०८१, आईतवार

कोरोना अस्पताल निर्माण



धनगढी । कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि धनगढीमा छुट्टै आइसोलेसन वार्ड सहितको अस्पताल निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ९४ लाख रुपैयाँको लागतमा वडा प्रहरी कार्यालय नजिक ५० शैयाको आइसोलेसन वार्ड निर्माण गरेको हो । सेती प्रादेशिक अस्पतालको मातहत रहने गरी निर्माण भएको सो ५० शैयाको आईसोलेसन वार्ड सहितको अस्पताल सोमबार स्वास्थ्य कार्यालय कैलालीले प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थितीमा भवन हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए । कोरोना अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने शैया, अक्सिजन पलान्ट, खानेपानी, बिजुली, शौचालयको व्यवस्थापन गरिएको छ ।

‘वार्डको अभावले उपचारमा समस्या हुनुका साथै अन्य बिरामीमा समेत संक्रमण फैलने जोखिम थियो,’ उनले भने, ‘अब छुट्टै भवनमा उपचार गर्न थालेपछि सहज हुनेछ ।’

अब थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पतालले नै गर्ने उनले बताए ।

अहिले कोरोना विशेष तोकिएको सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आईसोलेसन वार्ड रहेको छ भने थपिएको ५० समेत गरी अब ७४ शैया पुगेको छ ।

सेती प्रादेशिक अस्पतालमा १० वटा आइसियू कक्ष र ६ वटा भेन्टिलेटर रहेका छन ।

यता, विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा उलेख्य भूमिका खेल्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम सरकारले आवश्यक समाग्री खरिदको प्रक्रिया थालेको छ ।

सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ढिलै भएपनि कोरोना भाईरसको परीक्षणका लागि आवश्यक पर्ने किट लगायतका स्वास्थ्य समाग्री खरिदको प्रक्रिया सुरु गरेको हो ।

केन्द्रका फार्मेसी सुपरभाईजर जयन्द्र बोगटीले कोरोना परीक्षणका लागि २० हजार र्यापिड किट र दुई हजार पीसीआर किट गरी २२ हजार किट लगायतका अन्य स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अगाडी बढेको बताए ।

उनका अनुसार आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना शंकास्पद विरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने दुई हजार भिटिएम, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने पीपीई सेट पाँच सय र एक हजार केएन–९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको थियो ।

आईतबार बेलुका ५ बजे सम्म बोलपत्र पेश गर्ने अन्तिम समय तोकिएकोमा पाँच जना आपूर्तिकर्ताको बोलपत्र पेश गरेका छन् । अब ती बोलपत्रको प्राविधिक मूल्याङकन गरी आपूर्तिकर्ता छनौट गर्दै ठेक्का प्रक्रियामा लैजाने तयारी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार