काँग्रेस नेतृ डाक्टर देउवाले भनिन्– यथेष्ट स्वास्थ्य बजेट व्यवस्था गर
धनगढी। नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको वार्षिक नीती तथा कार्यक्रमममा यथेष्ट स्वास्थ्य बजेटको व्यवस्था गर्न प्रदेश सरकार र प्रदेश सभाको ध्यानाकर्षण गराएकी छिन् ।
सुरक्षित मातृत्व संजाल महासंघकी अध्यक्ष समेत रहेकी नेतृ डाक्टर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुख, मन्त्री, प्रदेशभाका सदस्यहरू तथा प्रदेश सरकारका मुख्य न्यायधिवक्तालाई पत्रमार्फत नीति तथा कार्यक्रमममा यथेष्ट स्वास्थ्य बजेटको व्यवस्था गरी प्रत्येक नागरिकको स्वास्थ्य र महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएकी छिन् ।
उनले भनेकि छिन्– नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख भएको र धारा ३८ महिलाको हक (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनी उल्लेख भएकाले यथेष्ठ स्वास्थ्य बजेट र त्यस अनुरुपको स्वास्थ्य सेवाको व्यवस्था गरी आम नागरिकको स्वास्थ्य हक र विशेषतः महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संवैधानिक हकलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्न प्रदेश सरकार र प्रदेशसभालाई आग्रह छ ।