गैरजिम्मेवारीपनको पराकाष्टा
पछिल्ला एक सातादेखि कैलाली भन्सारनाका हुँदै भारतका विभिन्न स्थानबाट दैनिक हजार बढी व्यक्ति नेपाल आइरहेका छन् । यो एक सातायता कैलाली भन्सार नाका हुँदै दश हजार बढी नेपाली भित्रिसकेका छन् । तर, अहिले प्रदेशमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने किट नै अभाव छ ।
यसले गर्दा अहिले भारतबाट आउने नेपालीहरुलाई बिना परीक्षण सम्बन्धित जिल्ला तथा स्थानीय तहमा पठाउने गरिएको अवस्था छ । सुदूरपश्चिम प्रदेशमा करिब छ साताअघिसम्म पाँच जना कोरोना संक्रमित रहेका थिए । उनीहरु सबै निको भएर फर्किसकेका छन् । छ सातासम्म कोरोनाका नयाँ संक्रमित नदेखिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम न्युन हुदै गएको विश्वास गरिएकोमा अहिले फेरि ह्वात्तै बढेको अवस्था छ । पछिल्लो शुक्रबारदेखि आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा दश जना कोरोनाका नयाँ संक्रमित फेला परिसकेका छन् । ती सबै प्रायः भारतबाट भरखर फर्किएकाहरु नै रहेको पुष्टि भइसकेको छ । यसले सुदूरपश्चिम प्रदेश फेरि कोरोनाको उच्च जोखिम क्षेत्र बन्ने खतरा बढेको छ । अहिले हरेक दिन हुलका हुल नेपाली भारतका विभिन्न स्थानबाट नेपाल भित्रिरहेको र उनीहरुको आवश्यक परीक्षणका साथै अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र सामाजिक दूरीसहित लकडाउनलाई अझ प्रभावकारी बनाउनु पर्नेमा सरकारहरु चुकिरहेका छन् भन्ने आरोप मात्रै हुनसक्दैन ।
भारतका विभिन्न शहर वा स्थानमा रोजगारी गरिरहेका वा अरु कामले गएका नेपालीहरुलाई सुरक्षित ढंगले नेपाल भित्राउने र चेकजाच, क्वारेन्टाइनमा राख्ने तथा उपचारको भरपर्दो व्यवस्था मिलाउन सुदूरपश्चिम प्रदेश सरकारका साथै स्थानीय सरकारहरुलाई प्रशस्त समय थियो । तर, यसतर्फ कुनै चासो देखाइएन । राहतमा धाधली, राहत वितरणको फोटोको लोभ, काम भन्दा कढि हल्ला र क्षणिक वाहवाहीको मानसिकता जस्ता काममा नै सरकारहरु अलमलिए । परिणामस्वरुप अहिले सुदूरपश्चिम प्रदेश कोरोनाको भयावह क्षेत्रका रुपमा देखापर्ने खतरामा पुगेको छ । भारतका विभिन्न शहरबाट फर्किरहेका तथा सिमावर्ती भारतीय क्वारेन्टाइनमा अत्यन्त असुरक्षित ढंगले कष्टपूर्वक राखिएका नेपालीहरुलाई स्वदेशमा ल्याउने जिम्मेवारी सरकारको हो । तर, अहिले सुदूरपश्चिम प्रदेश सरकार यी सबै काममा जुन ढंगले उदासिन र अकर्मण्य देखिएको छ, त्यो निकै दुर्भाग्यपूर्ण छ । यो संकटपूर्ण अवस्थामा प्रदेश सरकारले सबै जिल्ला तथा स्थानीय तहहरुसंग बलियो समन्वय र सहकार्य गरेर कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका साथै भारतबाट आइरहेका नेपालीहरुको प्रभावकारी व्यवस्थापनमा भूमिका निर्वाह गर्नुपर्नेमा “अवस्था सामान्य रहेको झैं व्यवहार गरिरहेको” देखिनु साच्चै नै दुर्भाग्य मान्नै पर्दछ ।
अवस्था अझ विस्फोटक बन्नु अघि नै प्रदेश सरकार तथा स्थानीय सरकारहरुले एकिकृत तथा मजबुत समन्वय र सहकार्यमा कोरोना रोकथाम र नियन्त्रणका लागि सबै उपाय प्रभावकारी रुपमा अघि बढाउन ढिलाई गरियो भने जनताका प्रति बेइमानी हुने छ । परीक्षण किटको तत्काल व्यवस्था गर्ने तथा परीक्षण कार्यलाई युद्धस्तरमा अघि बढाउनेदेखि क्वारेन्टाइनको उचित सञ्चालन र भारतबाट आएका र आइरहेका नेपालीको समुचित व्यवस्थापनमा सम्पूर्ण रुपमा ध्यान दिनेतर्फ गम्भीर भएकै हुनुपर्दछ ।