१० श्रावण २०८१, बिहीबार

गुणस्तरहीन राहत विक्री–वितरण गर्ने कारबाही गर्न माग



धनगढी । धनगढी उपमहानगरपालिकाले राहतको नाममा जनतालाई कुहिएर किरा परेको चामल वितरण गरेपछि खाद्य अधिकारको क्षेत्रमा कार्यरत संघ–संस्थाहरुले चासो देखाएका छन् ।

उनीहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै धनगढी जस्तै अन्यत्र समेत यस्ता खाले घटना हुन सक्ने भन्दै ध्यानाकर्षण जनाएका हुन् । उनीहरुले सरकारका तर्फबाट वितरण गरिने राहत नेपालको संंविधान, २०७२ मा भएको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सम्वन्धी हक, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ मा व्यवस्था भएको पोषणयुक्त र गुणस्तरीय खाद्यान्नको व्यवस्था, उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको उपभोक्ताको हक आदिलाई मध्यनजर गर्दै वितरण गर्नु पर्नेमा जोड दिएका छन् ।
उनीहरुले गुणस्तरहीन खाद्यन्न विक्री र वितरण गर्ने दुबैलाई कानुन बमोजिम कारबाही गर्न माग समेत गरेका छन् । ‘आगामी दिनमा राहत वितरणमा यस्ता कार्यहरु नदोहोरिन दिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नागरिकहरुले पनि यस्तो राष्ट्रिय संकटको वेला आआफनो तर्फबाट उत्तरदायित्व बहन गर्दै आवश्यक भएकाले मात्र राहत लिन र उपलब्ध गराउने आपुर्तीकर्ताले पनि खाद्यान्न लगायत अन्य अत्यावश्यक बस्तु तथा सेवाहरु उपलब्ध गराउदा यस जटिल अवस्थाको अनुचित फाइदा उठाउदै मुल्य वृद्धि नगर्न र स्वच्छ र गुणस्तरीय बस्तु मात्र उपलब्ध गराउन हुन अनुरोध गर्नुका साथै मुल्यबृद्धि, कालोबजार गर्ने र गुणस्तरहीन बस्तु बिक्री वितरण गर्नेलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसंग हार्दिक अनुरोध गर्दछौ ।’
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, गैरसरकारी संस्था महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समिति, फियान नेपाल, उपभोक्ता हित संरक्षण मञ्च,नेपाल सुदूरपश्चिम प्रदेश, खाद्य अधिकार सञ्जाल सुदूरपश्चिम, खाद्य अधिकार सञ्जाल कैलाली र याक नेपालले सो विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार