१० श्रावण २०८१, बिहीबार

कुहिएको राहत चामल प्रकरणः अख्तियारद्वारा छानबिन शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले वितरण गरेको राहतको चामल गुणस्तरहीन रहेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

उपमहानगरपालिकाले केही दिनअघि वडा नम्बर ४ मा वितरण गरेको राहत चामल कुहिएको र किरा परेको फेला परेको थियो । उपमहानगरपालिकाले राहतको चामल आपुर्तिको ठेक्का ठाकुर ट्रेड लिंकलाई सदएको छ ।

राहतको चामलको गुणस्तर तथा खरिद प्रक्रियामा अनियमिता भएको बारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन, प्रुसारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले बिहीबार राहत सामग्री खरिद प्रक्रियासंग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ ।

आयोगका महेन्द्रनगर कार्यालय प्रवक्ता टोपबहादुर बिष्टले राहत सामग्री खरिद प्रक्रियाबारे छानबिन गर्न सो सम्बन्धी सबै कागजपत्र नियन्त्रण लिएको बताए ।

राहत सामग्री (चामल, दाल खादि) आपूर्तिका लागि उपमहानगरपालिकाले ठेक्का दिएको ठाकुर ट्रेड लिंकले विभिन्न वडामा पठाएको चामल कुहिएको भन्दै राहत लिएका व्यक्तिले फिर्ता गरेका छन् ।

उपमहानगरपालिकाले बैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा बोलपत्र दर्ता गर्ने मिति बैशाख १४ गते दिउसो १२ बजेसम्म उल्लेख रहेको थियो । तर, उपमहानगरपालिका कार्यालयले बैशाख १२ गते नै ठाकुर ट्रेड लिंंकको बोलपत्र मूल्यांकनमा उत्तीर्ण भएको भन्दै स्वीकृतका लागि टिप्पणी उठाएको बताइन्छ ।

आयोगका कञ्चनपुर कार्यालयका सूचना अधिकारी बिष्टले राहतमा कुहिएको चामल वितरण गरेको बारे सञ्चार माध्यमहरुमा आएका समाचारलाई आधार बनाएर छानविन अघि बढाइएको बताए ।

धनगढी उपहानगरपालिकाले राहत सामग्री आपूर्तिका लागि ठाकुर टे«ड लिङ्कलाई दुई करोड ६१ लाख रुपैयामा ठेक्का दिएको थियो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले गुणस्तरहिन चामल आएको स्वीकार्दै सोको थप छानबिनका लागि उपमहानरपालिका स्वयंले पनि समिति गठन गरेको बताए ।

उपमहानगरपालिकाले बनायो छानबिन समिति

गुणस्तरहीन राहत चामलबारे व्यापक गुनासोबीच धनगढी उपमहानगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

उपमहानगरपालिकाको बुधबारको कार्यपालिका बैठकले वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाइएको छ ।

छानबिन समितिको सदस्यमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गीता पन्त छन् भने उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव तोकिएका छन् ।

छानबिन समितिलाई तीन दिनको समय प्रदान गरिएको छ । समितिको प्रतिवेदनका आधारमा चामल आपूर्तिकर्तामाथि कारवाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

उपमहानगरपालिकाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले टेन्डर प्रक्रियाबाट चामल खरिद गरेको उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ–चामल खरिद गर्ने काम कानुनसम्मत गरिएको तथ्य आम नगरवासीमा जानकारी गराउछौं । ठेक्का पाएको फर्म ठाकुर ट्रेड लिंकले सिधै वडामा पठाएको केही चामलमा त्रुटी भेटिएको हो । आपूर्तिकर्ता फर्म ठाकुर ट्रेड लिंक धनगढीले यस कार्यालयसंग सम्झौता भएअनुसारको चामल उपलब्ध नगराई गुणस्तरहिन चामल उपलब्ध गराएकोले मिति २०७७ बैशाख ३१ गते बसेको नगर कार्यपालिका बैठकले घटनाको थप छानविन र अनुसन्धानका लागि पाच सदस्यीय छानविन समिति गठन गरिसकेको छ ।

विज्ञप्तीमा वडा नम्बर ४ मा वितरण भइरहेको राहतमध्ये केही ब्यक्तिले बुझेको चामल गुणस्तरीय नभएको गुनासो आउने वित्तिकै वितरण कार्य रोकेर छानबिन प्रकृया अगाडी बढाइएको उल्लेख छ ।

कुहिएको ४० क्विन्टल चामल भेटियो

यसैबीच, छानबिन समितिले वडा नम्बर ४ को गोदाममा निरीक्षणका क्रममा ४० क्वीन्टल चामल कुहिएको फेला पारेको छ ।

छानबिन समिति संयोजक अधिकारीले १५ किलो तौल भएका तीन सय ५६ पोकामध्ये दुई सय ६९ पोका (४० क्वीन्टल) चामल कुहिएको फेला परेको बताए ।

कारबाहीको माग

उपमहानगरपालिकाले वितरण गरेको राहत चामल गुणस्तरहीन भएको बारे कारबाही गर्न युवा संघ नेपाल धनगढी नगर कमिटिले माग गरेको छ ।

युवा संघले धनगढी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापनपत्र वुझाउँदै कारबाहीको माग गरेको जनाएको छ ।

युवा संघ नगर कमिटी संयोजक बिष्णु केसीको अगुवाईमा एक टोलीले उपमहानगरपालिका लगायतका निकायमा ज्ञापनपत्र बुझाएको थियो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनगढी नगर कमिटीले पनि गुणस्तरहिन राहत चामल आपूर्ति गर्ने आपूर्तिकर्तामाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार