२ जेष्ठ २०८१, बुधबार

दुर्गमका बिरामीको सेवामा खटिँदै डा केसी, बझाङबाट पुगे बैतडी



डडेल्धुरा । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी लकडाउनकै बीचमा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका अस्पतालमा सेवा दिन व्यस्त छन्। डडेल्धुरा अस्पतालबाट बझाङ जिल्ला अस्पताल पुगेर केही दिन बसेपछि सोमबार डा केसी बैतडी पुगेका हुन्।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूको स्वास्थ्य अवस्था बुझ्न र लकडाउनका कारण उपचारको दायरामा आउन नसकेकालाई सेवा दिने क्रममा डा केसी सोमबार बैतडी पुगेको बताइएको छ। बैतडीमा रहेर समग्र जिल्लाको स्वास्थ्य अवस्थाबारेमा उनले जानकारी लिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताए। 

यसका साथै बैतडीमा डा केसीले बिरामीको निःशुल्क उपचार गर्ने समयते उनले बताए। २ दिन बैतडीमा बसेपछी उनी दार्चुला जाने कार्यक्रम छ।

यसअघि डा केसी बैसाख २५ गतेदेखि बझाङ जिल्ला अस्पतालमा रहेका थिए। त्यसअघि उहाँले फागुन २० गतेदेखि बैसाख २५ गतेसम्म डडेल्धुरा अस्पतालबाट सेवा दिएका थिए।उनले बझाङ र डडेल्धुरामा रहँदा पनि बिरामीको उपचार गरेका थिए।

डा केसी चिकित्सा क्षेत्र सुधार र काठमाडौँ बाहिर सुदूरपश्चिमलगायत क्षेत्रमा मेडिकल कलेज खोल्नुपर्ने माग गरी पटकपटक सरकारविरूद्ध अनसन बसिसकेका अभियन्ता हुन्। अहिले पहाडी जिल्ला जाने एम्बुलेसमा लिप्ट मागेर केसी विभिन्न जिल्लाका अस्पताल पुग्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार