५ जेष्ठ २०८१, शनिबार

राहत चामलमा किरा र ढुसी



धनगढी । धनगढी उपमहानगरपालिले वितरण गरेको राहत चामलमा किरा र ढुसी भेटिएको छ । उपमहानगरपालिकाले वडा नम्बर ४ उत्तरबेहडीमा वितरण गरेको चामल कुहिएको फेला परेको जनाइएको छ । राहत दिइएको चामलमा किरा र ढुसी फेला परेपछि सोमबार उपमहानगरपालिकाले भण्डारण गरेको वडा नम्बर ४ शिवपुरीस्थित गोदाममा चेकजाँच मारिएको छ ।

उपमहानगरपालिकाले लकडाउनका कारण समस्या परेका मजदुर तथा विपन्न परिवारलाई राहत स्वरुप चामल सहितको सामग्री वितरण गर्दै आएको छ । उपमहानगरपालिकालाई ठाकुर एग्रो इन्डष्ट्रिजले चामल आपूर्ति गरिरहेको छ ।

राहतको चामल कुहिएको भेटिएपछि उपमहानगरपालिकाको अगुवाईमा सरोकारवाला निकायका प्रतिनिधि सहितको टोलीले सोमबार दिउसो उपमहानगरपालिकाले भण्डारण गरेको गोदाममा चेकजाँच गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी दीपक कुवँरले जानकारी दिए ।

उनले भने– राहत स्वरुप वितरण भएको चामलको गुणस्तरमाथि नै प्रश्न उठेपछि भण्डार गरिएको गोदाममा राखिएका चामलको चेकजाँच गरिएको छ ।

गोदाममा राखिएका चामलका बोरा खोलेर हेर्दा केही बोरामा कुहिएको र किरा परेको चामल भेटिएको थियो ।

धनगढी उपमहानगरपालिकाले अहिलेसम्म दुई करोड ६१ लाख रुपैयाँमा तीन हजार तीन सय क्वीन्टल चामल तथा आठ सय क्वीन्टल दाल लगायतका खाद्य सामग्री आपूर्तीका लागि सो फर्मलाई ठेक्का दिएको बताइएको छ ।

उपमहानगरपालिकाले खरिद गरेर वितरणका लागि वडाहरुमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आक्रोशित स्थानीयले चामल फिर्ता गरेका छन् ।

उपमहानगरपालिका वडा नम्बर ४ मा आइतबार र सोमबार वितरण गरेको चामल कुहिएको फेला परेको हो । वडा नम्बर ४ का सीता थापाले वडा कार्यालयबाट राहतमा प्राप्त चामल कुहिएको भेटिएपछि वडा कार्यालयमै फिर्ता गरेको बताइन् ।

राहत वितरणका लागि प्याक गरिएको चामलका बोरामा बाहिर कुनै छाप र उत्पादन मिति पनि उल्लेख छैन । चामलमा सेता रंगका किराहरु भेटिएको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दीपकबहादुर थापाले पनि पुष्टि गरे ।

वडाध्यक्ष थापाका अनुसार उपमहानगरपालिकाले दिएको टोकनका आधारमा सो मिलबाट चामल ल्याएर मजदूर तथा विपन्न परिवारलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार