५ जेष्ठ २०८१, शनिबार

किसानलाई अनुदानको वीऊ वितरण गरिदै



कञ्चनपुर । कैलाली र कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउन सुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानको सहजताका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले पाँच सय मेट्रिक बीउ वितरणको व्यवस्था मिलाएको हो ।

दुवै जिल्लाका २० वटा स्थानीय तहका सहकारी र समूहलाई बीउ खरिद र वितरणका लागि कार्यादेश दिई वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए । सहकारी समूहलाई बिलका आधारमा बीउ खरिद र ढुवानी गरेबापतको रकम भुक्तानी गरिने भट्टले बताए । उनले भने, ‘सहकारी समूहले धानको बीउ खरिद र वितरणको कार्य गरिरहेका छन् ।’

लकडाउनको बेला किसानको घर दैलोमै सेवा पुर्याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको कार्य भैरहेको उनको भनाइ छ । किसानलाई सर्जु ५२, राधा ४, सावाँ मन्सुली, सावित्री, राधा १४, बहुगुणीलगायत जातका धानका बीउ छनौट गरी वितरणको कार्य गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरिएको प्रमुख चन्दले बताए ।

बीउ प्रत्येक स्थानीय तहलाई २५० क्विन्टलको दरले उपलब्ध गराउने बताइएको छ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । वितरण गरिएको बीउ बाट १० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कार्यालय प्रमुख भट्टले बताए । जस बाट १० हजारभन्दा बढी किसान लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार