४ जेष्ठ २०८१, शुक्रबार

सरकारी भवन वेबारिसे, भाडामा कार्यालय संचालन



डोटी । आज भन्दा ३ वर्ष अगाडी यसै समयमा देशैभर स्थानिय तहको चुनावि सरगर्मी सुरु भइसकेको थियो । आफुले चुनेका जनप्रतिनिधिहरुबाट न्युनतम समस्या हल हुनेमा जनताहरु आशावादी पनि देखिन्थ्ये । तर केही जनप्रतिनिधिहरुबाट भने न्युनतम अपेक्षा समेत पुरा हुन नसकेको जन गुनासो सुनिन्छ । जन प्रतिनिधिहरु स्थानियको माग र चाहना भन्दा आफु खुसि चल्ने गरेको प्रसस्त उदाहरण छन । डोटीको केआइसिं गाउँपालिका केही वडाहरुमा पनि यस्तै भएको छ ।

केआइसिं गाउँपालिकाको वडा नम्वर ३ मा ४ कोठे पक्की सरकारी भवन छ, विगतमा गाविस कार्यालय सोही भवनबाट संचालन हुदै आइ रहेको थियो । तर अचेल वडा कार्यालय भाडामा लिएको घरमा छ । उक्त वडाले मासिक ८ हजार भाडा तिर्ने गरी स्थानिय कांग्रेस कार्यकर्ता कालुराम ओझाको घर भाडामा लिएको छ । उता ४ कोठे सरकारी भवनको एक कोठामा वडा सचिवको डेरा छ भने अन्य कोठामा ताल्चा झुन्ड्याइएको छ ।

स्थानिय तहको चुनाव लगत्तै वडा नम्वर ३ का अध्यक्ष रत्न कुवरले वडा कार्यालय भाडामा संचालन गर्न लगाएको स्थानियले बताएका छन । नाम उल्लेख नगर्ने सर्तमा एक जना स्थानियले भने “वडा कार्यालय संचालनका लागि सरकारी भवन छदै छ, तर वडा अध्यक्षले आफ्ना कार्यकर्ताको मन जित्नका लागि घर भाडामा लिएका हुन ।” वडा कार्यालय अपायक पर्ने भएकोले सम्पर्क कार्यालयका लागि घर भाडामा लिएको वडा अध्यक्ष कुवर बताउछन ।

अध्यक्ष कुवरले भने “स्थानिय गोदावरी सहकारी सँस्थाका लागि घर भाडामा लिनु पर्ने नै थियो, त्यसैको एक कोठा खाली भएकोले त्यही बाट कामकाज चलाउदै आएका छौ, कसैको चित्त दुखेको हो भने अर्को आर्थिक वर्षदेखि सरकारी भवनमै सरौला ।” तर सहकारी सँस्थाका लागि वडाको बजेटबाट भाडा तिर्न नपाइने प्रावधान रहेको छ ।

यस्तै, केआइसिं गाउँपालिकाको वडा नम्वर ६ मा पनि यस्तै अवस्था छ । सरकारी लगानीमा टिनले छाएको भवन छ, पहिला वडा कार्यालय त्यसै भवन बाट संचालन हुन्थ्यो । तर २ वर्ष अगाडी आएको हावाहुरीले छानो उडाएपछि स्थानिय एक कांग्रेस नेताको घर भाडामा लियर कामकाज गरिदै आएको छ ।

सरकारी भवन दिनानु दिन जिर्ण बन्दै गइरहेकोे छ, तर वडाले भने मासिक १० हजार भाडा तिरेर कार्यालय संचालन गरिरहेको छ । वडा अध्यक्ष दिप वलायर भने “हुरीले छानो उडाएपछि भाडाको घरबाट काम काज चलाई रहेका छौ, एक कोठे भवन भएकोले साघुरो पनि थियो, अर्को आर्थिक वर्षमा जिर्ण भवनको मर्मत गर्छौ ।” एक कोठे भवन भय पनि आवश्यक मर्मत गरेर सकिने जति काम उत्तः भवन बाटै गर्नुपर्ने युवा संघ डोटीका संयोजक समेत रहनु भएका स्थानियबासि गोविन्द खड्काको तर्क छ । संयोजक खड्काले भने “भत्किएको भवन मर्मत गरेर वडा कार्यालय संचालन गर्न पटक पटक अध्यक्ष ज्यू सँग आग्रह गर्यौ, तर उहाँले टेर पुच्छर लगाउनु भएको छैन ।”

सरकारी भवन बेवारिसे वनायर भाडामा कार्यालय संचालन गर्नु गलत भएको जिल्ला समन्वय समिती डोटीका प्रमुख रामबहादुर ऐरले बताए । स्थानिय तह अनुगमन तथा समन्वयको समेत जिम्मेवारी पाएको समन्वय समितीका प्रमुख ऐरले भने “सरकारी भवन हुदाहुदै कार्यकर्ताको घर भाडामा लिनु हुदैनथ्यो, प्राप्त अक्तियारीको दुरुपयोग गर्नु पदिय मर्यादा विपरित हुन्छ, आवश्यक कारवहीका लागि गाउँपालिकालाई पत्र लेख्छौ ।”

वडाको विकासका लागि आएको रकम बाट घर भाडा तिर्नु परेकोले यथासिघ्र सरकारी भवनमा कार्यालय सार्न वडाबासिको माग छ । मनपरी गर्ने वडाका प्रतिनिधिहरुलाई आवश्यक कारवाही हुनु पर्ने उनीहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार