४ जेष्ठ २०८१, शुक्रबार

सञ्चारकर्मीहरुलाई निःशुल्क दन्तसेवा



कार्यक्रममा प्रमुख अतिथि नेपालसहित वरिष्ठ पत्रकारहरु पुरु रिसाल, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, बालकृष्ण बस्नेत, दामोदर प्रसाद दवाडी, सागर पण्डित, विएन दाहाल, टंक पन्तसहित झण्डै २४ जनाले दाँतको उपचार गराएका थिए ।


काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीलाई निःशुल्क दन्त सेवा प्रदान गर्न थालेको छ ।

ओम डेण्टल समाज होमका डाक्टरहरुको सहयोगमा सञ्चारकर्मीहरुलाई सो सेवा प्रदान गर्न सञ्चार केन्द्र नेपालले दन्त सेवा कार्यको सुरुवात गरेको हो ।

पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार दन्त सेवा परीक्षण स्टलको गरे । उद्घाटन गर्दे नेता नेपालले कोरोना भाइरस (कोभिड १९)को संन्त्रासका बीच पनि समाचार संकलनका लागि फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरुलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउने कार्य सह्रानिय भएको बताए ।

मुखको सफाईले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै नेता नेपालले सञ्चारकर्मीहरुलाई ध्यानमा राखेर उपचार कार्यक्रमको आयोजना गर्नु उपयुक्त समयमा महत्वपूर्ण कार्य भएको बताए ।

उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल कम संक्रमित भएको देशका रुपमा रहनु सुखद भएको बताउनुहुँदै भावी दिनमा समेत संकट टार्नको लागि सबैले सचेतना अपनाउन आग्रह गरे ।

अहिलेको अवस्थामा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरु प्रभावकारी भएको भन्दै यसलाई थप प्रभावकारी बनाउन जरुरी भएको नेता नेपालको भनाई थियो ।

कार्यक्रममा ओम डेण्टल समाज होमका डाक्टर सुवास घिमिरेले केही गरौँ भन्ने भावनाका साथ आफूँहरुले निशुल्क रुपमा यो सेवा प्रदान गरेको बताए । आफूहरुले विगतमा पनि मुलुक संकटमा पर्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जानकारी गराउँदै सञ्चार केन्द्र नेपालसँगको सम्झौता गरेअनुरुप उपत्यकाका सबै सञ्चारकर्मीहरुको निःशुल्क दन्त परीक्षण र उपचार गर्ने प्रतिवद्धता जनाए ।

शुक्रबार नै कार्यक्रममा प्रमुख अतिथि नेपालसहित वरिष्ठ पत्रकारहरु पुरु रिसाल, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, बालकृष्ण बस्नेत, दामोदर प्रसाद दवाडी, सागर पण्डित, विएन दाहाल, टंक पन्तसहित झण्डै २४ जनाले दाँतको उपचार गराएका थिए ।


कार्यक्रममा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाचार संकलनमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीहरुसमेत लाभान्वित हुने गरि कार्यक्रम राखिएको चौलागाईंले बताए ।

उपत्यकामा खटिने सम्पूर्ण सञ्चारकर्मीहरुलाई यो सेवा लिनका लागि विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा सबैलाई आमन्त्रण गर्दै चौलागाईंले भने –‘लकडाउनका बीचमा दाँतको दुखाईमा पर्नुभई हिँडडुल गर्न नसक्ने सञ्चारकर्मीहरुको घर घरमै डाक्टर सहितको टिम नै परिचालन उपचार गर्न सकिने व्यवस्था मिलाएका छौँ, समस्या परे खबर गर्नहोला ।’


रौतहटबासीलाई राहत वितरण
सोही कार्यक्रममा प्रमुख अतिथि नेपालले रौतहट जिल्ला घर भई काठमाडौमा बसोबास गर्ने ३५ परिवारलाई राहत प्रदान गरे ।

लामो समयदेखि लकडाउन भएपछि समस्यामा परेका रौतहटबासीलाई नेता नेपालले चामल, दाल, नुन, तेललगायतका खाद्यसामाग्री उपलब्ध गराएका थिए । राहत वितरण कार्यक्रमको संयोजन पनि सञ्चार केन्द्र नेपालले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार