४ जेष्ठ २०८१, शुक्रबार

लकडाउनको मौका छोपेर काठ तस्करीमा बृद्धि



धनगढी । लकडाउनको मौका छोपेर कैलाली र कञ्चनपुरमा वन तस्कर तथा माफियाहरूको बिगबिगी बढेकोे छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन जारी गरेका बेला कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा काठ चोरी तस्करीमा ह्वात्तै बढेको छ । वन डिभिजन कार्यालय र सामुदायिक वनहरूको निष्क्रीयताको मौका छोप्दै तस्करहरूले अवैध रुपमा काठ कटानी तथा तस्करी बढाएका छन् ।
डिभिजन वन कार्यालय, कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले लकडाउनको समयमा वन क्षेत्रमा काठ तस्करी बृद्धि हुँदै गएकोले नियन्त्रण प्रयास बढाइएको बताए । ‘लकडाउनपछि कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करी गरिएको एक सय ५० क्युफिट काठ बरामद गरिएको भेटिएको छ’ उनले भने– विभिन्न सामुदायिक वनहरूबाट समेत ५० देखि ६० क्युफिट काठ बरामद गरिएको छ ।
अहिले वन क्षेत्रमा हुनसक्ने चोरी सिकारीलाई दृष्टिगत गर्दै गस्ती टोली समेत परिचालन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको बताए ।
कैलालीमा डिभिजन वन कार्यालय पहलमानपुर अन्तरगत पर्ने विभिन्न वनहरूबाट अवैध रुपमा काठ कटानी र तस्करी भईरहेको बताइन्छ । पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतका वनहरूबाट लकडाउनपछि छ सय क्युफिट बढी काठ बरामद गरिएको छ । लकडाउनमा स्थानीयबासी सहित वनका कर्मचारीहरूको आवतजावत रोकिएकोले काठ तस्करी बढेको वनकर्मीहरूको भनाई छ ।
अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला यो अवधीमा भने झनै बढेको देखिएको छ । वनले ठुलो क्षेत्रफल ओगटेको कैलालीमा झनै तस्करी बढेको छ । तरपनि वन क्षत्र संरक्षणमा संक्रियताका साथ लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले बताए । ‘लकडाउनको समयमा चोरी तस्करी नहोला भन्ने सोचेका थियौं’, उनले भने, ‘वन कर्मचारीसंगै स्थानीयको पनि आवातजावत रोकिएपनि कतिपय स्थानबाट काठ तस्करी भईरहेको छ ।’
विभिन्न ठाउँबाट तस्करी हुन लागेको काठ पनि बरामद गरेको उनले बताए । वन कार्यालयहरूले नियमित रुपमा निगरानी संगै गस्ती गरिरहेको दावी गरेको छ ।
डिभिजन वन कार्यालय धनगढीले समेत लकडाउनकै अवधीभर १५ सय क्युफिट काठ बरामद र आठ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र क“डेलले बताए ।

लुकाई राखेको काठ बरामद

कैलालीको घोडाघोडी नगरपालिकामा लुकाई राखेको सालको गोलिया र काठ बरामद गरिएको छ । घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ स्थित माघी सामुदायिक बन उपभोक्ता समूहको सीमा क्षेत्रबाट ती गोलिया बरामद गरिएको जनाइएको छ ।
विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय प्रमुख समीर थापा नेतृत्वको गस्ती टोलीले सोमबार राती सो काठ लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको बताइएको छ ।
डिभिजन बन कार्यालय पहलमानपुरका अनुसार पा“च वटा सालको गोलिया ६३.९३ क्यूफिट र आठ वटा चिरान गरिएको कडी ३.२८ क्यूफिट काठ बरामद गरिएको छ । बरामद गरिएको गोलिया सहितको काठ सम्बन्धित सामुदायिक बन समूहका अध्यक्ष र स्थानीयको रोहवरमा सामुदायिक बनको जिम्मेवारीमा राखिएको डिभिजन वन कार्यालय प्रमुख थापाले बताए ।
माघी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष बुद्धि प्रकाश चौधरीले फर्निचर निर्माणका लागि डिलाशैनी कृषि समूहले बन उपभोक्ता समितिसंग सो काठ माग गरेको बताए । दराज र कुर्सी लगायत अन्य फर्निचर सामान निर्माणका लागि काठ उपलब्ध गराइ दिन कृषि समूहले माग गरे पछि समितिमा सोबारे निर्णय भएको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार