११ बैशाख २०८२, बिहीबार

जेठ ५ गतेसम्म लकडाउन



सीमा नाका र हवाई उडान जेठ १८ सम्म बन्द

काठमाडौँ । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए । 

जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

यसैगरी, सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । 

यस्तै सरकारले अन्तर्राष्ट्रीय र आन्तरिक उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ । ‘बुद्ध जयन्तीको अवसर पनि पर्‍यो, कोरोनाको महामारीबाट मुक्ति मिलोस् भन्ने कामना पनि गरौं भनेर दिप प्रज्ज्वलन गर्न आग्रह गरिएको हो,’ एक मन्त्रीले कान्तिपुरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार