लकडाउन लम्ब्याउने सरकारको तयारी
काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन थप्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लक डाउन बढाउने भन्ने निर्णय नगरेपनि बढाउने निष्कर्ष निकालेको हो।

अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ। बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए।
लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि उनले ‘लक डाउन लम्बिन सक्छ’ भनेका छन्। नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनको भनाइ छ।
मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ। लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ। यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।’ प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेको हो ।
यसअघि पनि समितिको सिफारिसमा १० दिन लकडाउन लम्ब्याइएको थियो। गत वर्ष चैत ११ गतेदेखि सरकारले निरन्तर रूपमा लकडाउन बढाउँदै आएको छ। यसअघि सरकारले थप गरेको लकडाउन पर्सि (बैसाख २५ गते) सकिँदैछ।
लकडाउन अवधि बढ्दै गएको र यसले समग्र जनजीवनमा असर पारेको भन्दै गृहमन्त्रालयले छलफल थालेको थियो। स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकालले पनि विधान व्यवस्थापन समितिको बैठकमा पुगरे सरकारले लकडाउनको स्वरुप फेर्नेबारे छलफल गरिरहेको बताएका थिए। तर समितिले भने अझ पनि कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै लकडाउन थप गर्ने तयारी गरेको हो।