कैलालीमा लकडाउनमा कडाई

धनगढी । कैलालीमा सोमबार अपरान्हदेखि लकडाउनमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा अपरान्ह ४ बजेदेखि धनगढी लगायतका बजारहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि पुनः कडाई गरेको हो ।
प्रदेश नम्बर ५ को नेपालगञ्जमा १६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि कैलालीमा समेत लकडाउनमा कडाई गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जनजीवन सहज बनाउन दुई घण्टा खुकुलो पारिएकोमा सर्वसाधारणहरू निस्फ्रिक्री भएर सवारी साधन चलाउने, पैदल घुम्न निस्किने र पसलहरू खुल्ने क्रम पनि बढेपछि लकडाउन पूर्ववत रुपमा कडा बनाउने निर्णय गरिएको बताए ।
प्रजिअ बोहराले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसंगको छलफलपछि अपरान्ह ४ बजेदेखि धनगढी बजार पूर्ण रुपमा बन्द गरिएको बताए ।
नगर प्रमुख वडले धनगढीका व्यवसायी र उद्योग बाणिज्य संघका पदाधिकारीहरूसंगको छलफलमा धनगढीका सम्पूर्ण पसलहरू २५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको बताए ।
लकडाउनम कडाई गरेसंगै सुरक्षाकर्मीहरूले बजारमा सवारी साधनहरू नियन्त्रणमा अभियान तिब्र पारेको छ ।
कोरोना संक्रमणको आशंकामा बाबुछोरी अस्पताल भर्ना
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा कैलालीको मसुरियाका दुई जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ वर्षीय पुरुष र उनकी आठ वर्षीया छोरीलाई आइतबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको बताइएको छ । बाबुछोरीमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ ।
बाबुछोरी दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको छ । खोजबीनका क्रममा उनीहरूको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी एक युवतीलाई पनि सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा राखिएको छ । १८ वर्षीया ती युवतीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए ।
ई–पास बन्द गरियो
कैलाली जिल्ला प्रशासन कार्यालयले लकडाउनको अवधिमा प्रदान गरिदै आएको ई–पास बन्द गर्ने निर्णय गरेको छ ।
बैशाख ३ गतेदेखि जिल्ला प्रशासनले दिदै आएको ई–पास सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको बताइएको छ । स्थानीय प्रशासनले अत्यावश्यकीय प्रयोजनका लागि सवारी साधन चलाउन ई–पास दिदै आएको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीले ई–पास दिनै पर्ने भएमा जानु पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र प्रदान गरिने बताए ।