१० श्रावण २०८१, बिहीबार

धार्चुलामा रहेका नेपाली मजदूरको उद्धार थालियो



धनगढी । एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदूरको उद्धार बिहीबारबाट सुरु भएको छ। क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले बिहीबार बिहानदेखि उदार गर्ने निर्णय भएको थियो।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटकपटक छलफल भए पनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धारको लागि तयारी भएको थियो। उनीहरुलाई आज बिहान ७ बजेदेखि उद्धार सुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढी नेपाली बसिरहेका थिए। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिनदेखि दार्चुला पुगेका छन्।

दार्चुला लगायका बैतडी, बझाङका स्थानीय तहमा क्वारेन्टाइन तयारी अवस्थामा राखिएका छन्। उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको दार्चुलाका यातायात व्यवसायी लवराज अवस्थीले बताए।

‘धार्चुलामा रहेका नेपाली उद्धारपछि सम्बन्धित ठाउँमा पुर्‍याउनका लागि तयारी अवस्थामा बस्नुहोला भन्ने जानकारी आएको छ’, अवस्थीले भने।

धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट नेपाल प्रवेश गराइँदै छ। धार्चुलामा १० जिल्ला नागरिक बसेका छन्। बैतडी, बझांगका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ भने दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने प्रजिअ पौडेलले बताए।

उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच पछि प्रवेश दिइने, नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ। बैतडी र बझांगलाई आजै पठाइने छ। सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा उनीहरु जाने छन्।

नेपाल प्रवेशपछि खाजाका व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले उनीहरुलाई मास्क वितरण गर्ने प्रजिज पौडेलले बताए। १८ सय भन्दा बढी नागरिक नेपाल प्रवेश गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार