१० श्रावण २०८१, बिहीबार

कोरोना कोषमा ४६ लाख संकलन



धनगढी । कैलालीको गौरिगंगा नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस जोखिम नियन्त्रण तथा उपचार कोषमा ४६ लाख रुपैया बढी रकम संकलन भएको छ ।

नगरपालिकाले ११ लाख रुपैयाबाट स्थापना गरेको सो कोषमा प्रदेश सरकार, सामुदायिक वन, सहकारी तथा नीजि विद्यालयले सहयोग गरेको जनाइएको छ । नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै कोषमा ४६ लाख एक हजार पाँच सय रकम जम्मा भएको जनाएको छ ।

नगर प्रमुख भीमबहादुर देउवाले कोषमा प्रदेश सरकारबाट ३० लाख, विभिन्न सामुदायिक वनबाट तीन लाख ४८ हजार पाँच सय, साना किसान सहकारी संस्थाबाट १५ हजार र नीजि विद्यालयहरूबाट एक लाख १५ हजार रकम सहयोग भएको जानकारी दिए ।

उनले नगरपालिकाले कोषमा जम्मा गरेको ११ लाख रुपैया प्रत्येक वडामा एक/एक लाखका दरले बाँडिसकिएको बताए । उनले अहिले कोषमा जम्मा भएको रकम पनि प्रत्येक वडालाई दुई लाख १५ हजारका दरले वितरण गरिने बताए ।

दोस्रो चरणको राहत वितरण तयारी

सरकारले लकडाउन जारी गरेपछि असंगठित मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरू मारमा परेका छन । गौरिगंगा नगरपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेको जनाएको छ ।

नगर प्रमुख देउवाले भने –‘पहिलो चरणको राहत वितरण गरिसकेका छौं । दोस्रो चरणको वितरणका लागि अहिले नामावली संकलन भइरहेको छ ।’ ११ वडा रहेको गौरिगंगामा पहिलो चरणमा दुई हजार पाँच सय ६९ परिवारलाई राहत वितरण गरिएको जनाइएको छ ।

नगरपालिकाले चार जनाको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक प्याकेट नुन, तेल, सावुन र चार जना भन्दा माथि भएका परिवारलाई १५ किलो चामल, दुई किलो दाल, दुई प्याकेट नुन, तेल, सावुन वितरण गर्ने भनी मापदण्ड तयार पारेको बताए ।

दुई वटा ‘फेभर क्लिनिक’

गौरिगंगा नगरपालिकाभित्र दुई स्थानमा ज्वरो चेकजाँच गर्न ‘फेभर क्लिनिक बुथ’ स्थापना गरिएको नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले जानकारी दिए । नगरपालिकामा रहेको मसुरिया स्वास्थ्य चौकी र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा सो बुथ स्थापना गरिएको उनले बताए ।

उनले भने –‘कोरोनाका लक्षण देखिएका व्यक्तिहरूलाई चेकजाँच गर्न सो बुथ स्थापना गरिएको हो ।’ उनले अहिलेसम्म गौरिगंगा नगरपालिकाभित्रबाट आठ जना कोरोनाका शंकास्पद व्यक्तिहरूलाई धनगढी रिफर गरिएको बताए ।

गौरिगंगा नगरपालिकाका दुई वटा स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । नगरपालिकाले जनप्रिय माध्यामिक विद्यालय र मालिका माध्यामिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ । नगरपालिकाभित्र अहिलेसम्म एक सय ९९ जनालाई क्वारेन्टाइनमा राखिएकोमा अहिले ८० जना क्वारेन्टाइनमा रहेका छन ।

नगरपालिकाभित्र छ सय ५० जना भारत तथा अन्य मुलुकबाट रोजगारी गरेर फर्केका व्यक्ति रहेका छन । उनीहरू सबैलाई ‘होम क्वारेन्टाइन’ मा राखिएको जनाइएको छ ।

नगर प्रमुख देउवाले नगरपालिकाभित्र तीन सय २५ जनाको आरडिटी टेष्ट र २९ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार