१० श्रावण २०८१, बिहीबार

कोरोना भाइरस रोकथाम प्रयासः सुरक्षाकर्मी र कैदीबन्दीमा नमुना परीक्षण



धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले दुई सय व्यक्तिको कोरोना परीक्षण गरेको छ । हिरासतमा रहेका थुनुवामा र सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी दुई सय जनामा कोरोना परीक्षण गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थुनुवालाई अदालतमा पेश गर्दा अनिवार्य रुपमा कोरोना परीक्षण रिपोर्ट संलग्न हुनुुपर्ने अदालतको आदेशानुसार कोरोना संक्रमण जा“च गरिएको प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले कोरोना भाइरसको संक्रमण फैलन नदिन थुनुवा र त्यहा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिने गरेको बताए । उनका अनुसार अहिलेसम्म एक सय ३५ सुरक्षाकर्मी र ६५ जना हिरासतमा रहेको थुनुवाहरूको परीक्षण गरिएको बताए ।

एक सय सुरक्षाकर्मी चैत ११ गते नेपाल भारत सीमा क्षेत्र त्रिनगर नाकामा भएको आन्दोलनमा खटिएका थिए भने ३५ जना हिरासतमा लिने सुरक्षाकर्मी हुन । प्रहरी प्रवक्ता बस्नेतले उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।

लकडाउन गर्ने ११ जना विरुद्ध मुद्दा

कैलालीमा सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्ने ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयले लकडाउनको समयमा मदिरा सेवन गरी होहल्ला गर्ने, उच्छृंखल गतिविधी गरेको लगायतको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बस्नेतले उनीहरूमाथि सार्वजनिक हित विरुद्धको मुद्दा दायर गरिएको बताए । उनले मुद्दा दायर गरिएका व्यक्तिहरू अहिले थुनुवामा नरहेको बताए ।

उनले जिल्लाका विभिन्न स्थानबाट चैत ११ गतेदेखि जारी गरेको लकडाउनको पालना नगर्ने छ सय ३० जनालाई नियन्त्रणमा लिएको बताए । उनले भने– ‘छ सय ३० जनालाई नियन्त्रणमा लिइ सम्झाई बुझाई गरी छोडिएको छ भने ११ जनामाथि मुद्दा दायर गरेर छोडिएको छ ।’ उनले लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छोड्ने गरिएको बताए ।

प्रहरीले यस अवधिमा एक हजार चार सय २७ सवारी साधन नियन्त्रणमा लगको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएकोमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन भने ट्याक्टर, टिप्पर, जेसिभी लगायतका सवारी साधन पनि रहेका छन ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो । सरकारले वैशाख २५ सम्म लकडाउन कायम रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार