१० श्रावण २०८१, बिहीबार

अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउन शुरु



धनगढी । कैलालीमा वन अतिक्रमण गरी अवैध रुपमा बनाइएका भौतिक संरचनाहरू भत्काउन शुरु गरिएको छ ।

डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिकाको विभिन्न सामुदायिक वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउन शुरु गरेको छ ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन सव डिभिजन कार्यालय अत्तरिया र सामुदायिक वन उपभोक्ता समुहको संयुक्त पहलमा अतिक्रमण हटाउने कार्य शुरु गरिएको बताए ।
उनले मंगलबार गोदावरी नगरपालिका वडा नम्बर १ स्थित चाहना सामुदायिक वन, दूर्गालक्ष्मी सामुदायिक वन र भीमदत्त राजमार्गमा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काइएको बताए । उनले बुधबार पनि दुर्गालक्ष्मी सामुदायिक वनमा रहेका भौतिक संरचना भत्काइएको बताए ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले सामुदायिक वन क्षेत्रमा बनाइएका एक दर्जन टहरा खाली गरिएको बताए । उनले खाली गरिएको एक हेक्टर वन क्षेत्रमा तारबार लगाउने तयारी भइरहेको बताए ।

डिभिजन वन कार्यालय प्रमुख कँडेलले भने– शुरुमा वनभित्र साना टहरा बनाउने विस्तारै पक्की संरचना बनाएर वन अतिक्रमण गर्ने प्रवृत्ति बढेपछि भत्काउने अभियान शुरु गरेका छौ ।

उनले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपेर अत्तरिया लगायत विभिन्न स्थानमा वन अतिक्रमण तीब्र रुपमा बृद्धि भएको जनगुनासो आइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा तोकिएपछि सो क्षेत्रमा वन अतिक्रमण गरी भौतिक संरचना बनाउने क्रम लगातार बृद्धि भइरहेको स्थानीयको भनाई छ । गोदावरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले प्रदेशको स्थायी राजधानी तोकिएसँगै सो क्षेत्रमा विभिन्न बहानामा वन अतिक्रमण भइरहेको बताए ।

कैलालीमा सुकुम्बासी, मुक्त कमैया, विद्यालय, क्याम्पस, मन्दिर, स्थानीय तहका वडा कार्यालय लगायतका नाममा वन अतिक्रमण भइरहेको बताए । उनले लकडाउन खुल्ने वित्तिकै अन्य क्षेत्रमा पनि अतिक्रमित वन क्षेत्र खाली गरिने बताए ।

कैलालीका अत्तरिया, चौमाला, सुखड, भजनी, लम्की, हसुलिया, फूलबारी, लगायतका स्थानमा वन अतिक्रमण बढि देखिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार