१० श्रावण २०८१, बिहीबार

विद्यालय सञ्चालक हत्या घटनाः छानबिन गर्न माग



धनगढी । कैलालीको मसुरियास्थित बिहानी क्षितिज वोर्डिङ स्कूलले विद्यालयका सञ्चालक प्रिन्सिपल कृष्ण भूषालको हत्या घटनाको सत्यतथ्य छानबिनको माग गरेको छ ।

एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका प्रिन्सिपल भूषालको केही दिनअघि पहलमानपुर बजार भन्दा केही टाढा पश्चिमतिर पूर्वपश्चिम राजमार्गमा शव फेला परेको थियो ।

शव भेटिएको स्थानभन्दा निकै पर उनको चप्पल तथा मास्क लगायतका सामग्री भेटिनु र शरीरमा धुलोमाटो तथा चोटपटक लागेको देखिनुले उनको हत्या भएको विद्यालयले दाबी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रशाद जोशीले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘शव भेटिएको स्थानभन्दा दुई किलोमिटर टाढा चप्पल तथा मास्क भेटिनु र चप्पल भेटिएको स्थानभन्दा केही पर रुखको फेदमा रगत लत्पतिएको भेटिनुले यो दुर्घटना नभई सुनियोजित हत्या भएको प्रष्ट देखिएको छ’ अध्यक्ष जोशीले जारी गरेको विज्ञप्तिमा ‘घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीका लागि जोडदार माग गर्दैछौँ’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार