१० श्रावण २०८१, बिहीबार

राहत वितरणका क्रममा जनप्रतिनिधि कुटिए



डोटी । राहत वितरणका क्रममा डोटीको केआइसिंह गाउपालिकामा एक जनप्रतिनिधि कुटिएका छन् । केआईसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जयबहादुर धामीमाथि कुटपिट भएको बताइएको छ । कुटपिटबाट बेहोस भएका वडाध्यक्ष धामीलाई उपचारका लागि दिपायल लगिएको छ ।

कुटपिटमा संलग्न चार जनामध्ये वडा नम्बर ४ लेककोटका लाल नेपाली, कार्कीबगरका लोक कार्की र मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको दुर्गामाण्डौ प्रहरीचौकी इन्चार्ज भाष्करराज पन्तले जानकारी दिए ।

वडा नम्बर ४ मा मंगलबारदेखि राहत वितरण भइरहेको छ । ‘बिहानैदेखि भोकभोकै राहत वितरणमा खटिएको थिए, नाम छुटेकालाई चिन्ता नगर्नुस घरखेत बेचेर भए पनि दिउँला भनिरहेकै थिए’, घाइते भएका वडाध्यक्ष धामीले भने– केही परिवारलाई उक्साएर राहत पाउनु पर्छ भन्दै ममाथि आक्रमण भयो । उनले आफनो हर्नियाको शल्यकृया भएकाले पेटमा चोट लागेपछि बेहोस भएको बताए ।

राहतका लागि ल्याइएको खाद्यान्न राख्ने भण्डारमा उनीहरुले जबरजस्ती ताला लगाउन खोजेपछि वडाध्यक्ष र प्रहरीले रोक्न खोज्दा चार जनाको समूहले आक्रमण गरेका थिए ।
कुटपिटमा संलग्न नेकपाका कार्यकर्ता रहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले आरोप लगाए । उनले हतारमा तथ्यांक संकलन भएकाले छुटेका विपन्न परिवारलाई दोस्रो चरणमा राहत दिने सार्वजनिक रुपमा जानकारी दिँदा दिँदै पनि हातपातमा गर्नु भनेको दण्डनीय कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार