११ पुष २०८१, बिहीबार

कोरोना रोकथाम तथा नियन्त्रण प्रयास



धनगढी । कैलालीमा कोरोना भाइरस रोकथामका क्रममा हाल चार सय ६० जना क्वारेन्टिनमा राखिएको छ । त्यस्तै दुई जनालाई आइसोलेशनमा राखिएको छ ।

कैलालीमा पनि लकडाउनका साथै कोरोना चेकजाँच केन्द्र, आइसोलेशन, क्वारेन्टाइन तथा होम क्वारेन्टाइन व्यवस्थित गरिएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई सरकारले कोरोना डेडिकेटेड अस्पताल तोकिसकेको छ । भने, टीकापुर अस्पतालमा पनि कोरोनाको लक्षण देखिएका व्यक्तिलाई छुट्टै राख्ने व्यवस्था गरिएको छ । जिल्लाका प्रत्येक स्थानीय तहमा आइसोलेशन, क्वारेटाइन पनि सञ्चालन गरिएका छन ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारत तथा अन्य मुलुकबाट फर्केका दुई हजार बढीलाई ‘होम क्वारेन्टाइन’ मा राखिएको छ । कोरोना भाइरस संक्रमित स्थानबाट आएका, तर संक्रमण नदेखिएका दुई हजार एक सय ३७ व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूलाई सम्बन्धीत स्थानीय तहको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ । कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा होम क्वारेन्टाइनमा राखिएको छ । प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकामा ७१ महिला र पाँच सय ९२ पुरुष गरी छ सय ६३ जना रहेका छन ।

कैलालीको घोडाघोडी र गोदावरी नगरपालिका तथा मोहन्याल र बर्दगोरिया गाउँपालिकामा कोही पनि होम क्वारेन्टाइनमा राखिएका छैनन् ।

कैलाली जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार गौरीगंगा नगरपालिकामा एक पुरुष, लम्कीचुहा नगरपालिकामा ५५ महिला र तीन सय ६९ पुरुष गरी चार सय २४ जनालाई होम क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै, टीकापुर नगरपालिकामा १५ जना पुरुष, भजनी नगरपालिकामा ३४ महिला र दुई सय १९ पुरुष गरी दुई सय २२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै, कैलारी गाउँपालिकामा २३ महिला र ८८ पुरुष गरी एक सय ११, जानकी गाउँपालिकामा ४१ महिला र दुई सय ६२ पुरुष गरी दुई सय ६३, जोशीपुर गाउँपालिकामा ३९ महिला र एक सय ८२ पुरुष गरी दुई सय २१ र चुरे गाउँपालिकामा १३ महिला र एक सय ४१ पुरुष गरी एक सय ५४ व्यक्ति होम क्वारेन्टाइनमा रहेका छन ।

त्यस्तै टीकापुर नगरपालिकामा आठ महिला र २३ पुरुष सहित ३१ जनालाई फिल्ड क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार