१० श्रावण २०८१, बिहीबार

जिल्ला भित्रिने र बाहिरिनेहरूको संख्यामा बृद्धि



धनगढी । देशका विभिन्न जिल्लाबाट मंगलबार कर्णाली चिसापानी हुँदै नौ सय बढी व्यक्ति कैलाली भित्रिएका छन् । पूर्व–पश्चिम राजमार्ग भएर मंगलबार कैलालीमा २१ वटा सवारी साधनमा नौ सय ६६ जना भित्रिएको जनाइएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीमा केही दिनदेखि बाहिर जिल्लाबाठ मानिस भित्रिने र बाहिरने क्रम बढेको छ । कैलालीबाट मंगलबार सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लामा नौ वटा यात्रुबाहक बस छुटेका छन् । कैलालीबाट पहाडी जिल्लाहरुमा तीन सय २८ जना गएको जनाइएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारले लकडाउन जारी गरेयता कैलालीमा बाहिरी जिल्लाबाट भित्रिने र बाहिर जिल्ला जानेको संख्या अत्यधिक रहेको छ । नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभरी लकडाउन जारी गरेको थियो । लकडाउन जारी भएयता पूर्व–पश्चिम राजमार्ग भएर मंगलबारसम्म कैलालीमा एक सय १४ सवारी साधन भित्रिएका छन् । यो अवधिमा पूर्वपश्चिम राजमार्ग हुदै कैलालीमा बाहिरी जिल्लाबाट पाँच हजार एक सय ३० जना भित्रिएका छन् ।

त्यस्तै, यो अवधिमा कैलालीबाट पहाडी जिल्लामा ४१ वटा यात्रुबाहक बस हुदै एक हजार आठ सय ४५ यात्रु बाहिरिएका छन् ।

प्रदेश ट्राफिक कार्यालय प्रमुख लोकेन्द्र श्रेष्ठले जिल्लामा भित्रिन तथा बाहिरिन सवारी साधनको अनुमतिपत्र प्राप्त गरेका सवारी साधहरूलाई कुनै ठाउँमा रोकटोक नगरिएको बताए । उनले भने– अनुमति पत्र नभएका सवारी साधनलाई भने हामीले रोकेका छौं ।

काठमाडौं तथा अन्य जिल्लाबाट कैलालीमा हजारौ व्यक्ति भित्रिए पनि कसैलाई पनि क्वारेन्टाइनमा भने राखिएको छैन । कर्णाली चिसापानी भएर भित्रिएका प्रायः सबै आ–आफनो घर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार