१० श्रावण २०८१, बिहीबार

लकडाउनको असरः वन तथा वन्यजन्तु संरक्षणमा चुनौति



धनगढी । एक महिना बढिदेखिको लकडाउन (बन्दाबन्दी) का कारण वन र वन्यजन्तु संरक्षणमा चुनौति थपिएको छ । लकडाउनका कारण पछिल्ला दिनमा कैलालीमा वन अतिक्रमण तथा बन फडानी, काठ तथा वन्यजन्तु तस्करीमा संगै बन डढेलोको जोखिम बृद्धि भइरहेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभरी नै लकडाउन गरेको छ । लकडाउनमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको छ । सरकारको राजपत्रमा वन अत्यावश्यक सेवामा राखिएको छैन । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले अनुमोदनसंग भने– अत्यावश्यक सेवामा नराखिए पनि हामीहरूले आफनै दायित्व सम्झेर वन संरक्षणका काम गरिरहेका छौं ।

बन अधिकृत कँडेलले लकडाउनका कारण वनकर्मीलाई बनमा नियमित अनुगमन गर्न, डढेलो नियन्त्रणका लागि सामग्री वितरण, अतिक्रमण हटाउ अभियान सञ्चालन लगायतका गतिविधी भने अघि बढाउन नसकिएको बताए ।

‘अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) को महामारीसंग जुधिरहेको छ’ उनले भने– कोरोनाको जोखिमबाट वनकर्मीलाई बचाउन हामीसंग सुरक्षा सामग्री पनि छैन । उनले वनभित्र खटिएका रेन्जर, वनकर्मी तथा वन प्राविधिक कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गरिनुपर्ने बताए । उनले लकडाउनमा पनि खटिएका वनका कर्मचारीहरूको स्वास्थ्य विमा र भत्ताको पनि व्यवस्था गरिनुपर्ने बताए ।

काठ तस्करीमा लगातार बृद्धि

सरकारले लकडाउन जारी गरेयता कैलालीमा काठ तस्करीमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले लकडाउन यता पक्राउ परेकामध्ये १२ जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको र सात जनालाई हिरासतमा राखिएको बताए । डिभिजन वन कार्यालयले लकडाउनको अवधिमा अवैध रुपमा कटान गरिएका तथा लुकाइछिपाई राखेका एक सय पाँच क्यूफिट एक सय एक थान चिरान काठ र ५९ दशमलव छ क्यूफिटका छ थान सालका गोलिया बरामद गरेको जनाएको छ ।

धनगढी डिभिजन वन कार्यालयले यस अवधिमा विभिन्न स्थानबाट काठका गोलियाहरू पनि बरामद गरेको जनाएको छ । धनगढीका प्रमुख कँडेलले भने– हाम्रो कार्यालय मातहात रहेको फूलबारी, गोदावरी र गौरिगंगा नगरपालिका क्षेत्रमा बढी काठ तस्करी भइरहेको छ ।

डिभिजन वन कार्यालय धनगढीले चैत १३ गते धनगढी उपमहागनरपालिका वडा नम्बर १६ बाट ७० दशमलब १६ क्यूफिटका दुई थान काठ बरामद गरेको थियो । चैत २३ गते धनगढीको वडा नम्बर १५ बाट एक सय ८० दशमलब १० क्यूफिटको ११ थान काठ बरामद गरेको जनाएको छ । चैत २५ गते कैलारी गाउँपालिका वडा नम्बर ९ बाट एक सय १० क्यूफिटका चार थान गोलिया बरामद गरेको जनाइएको छ ।

यस्तै चैत २६ गते गोदावरी नगरपालिकाबाट ५५ दशमलब १३ क्यूफिट चिरान गरिएका ६१ थान र ५९ दशमलब ३५ क्यूफिटका चार थान दाउरा बरामद गरिएको थियो भने चैत २८ गते १३ दशमलबर ७७ क्यूफिट चिरान काठ र ६४ दशमलब ७६ क्यूफिट गोलिया सहित पाँच जना पक्राउ परेका थिए ।

यस्तै, वैशाख १२ गते स्थानीयले गौरिगंगा नगरपालिकास्थित शिवगंगा सामुदायिक वनमा चारवटा जति रुख काटेर लुकाएर राखेको अवस्थामा खयरका ४४ गोलिया काठ फेला पारेका थिए भने वैशाख १४ गते घोडाघोडीमा ४ गोलिया सालको काठ बरामद गरिएको जनाइएको छ । घोडाघोडी नगरपालिका ११ तप्पाको राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको सालको काठ बरामद गरिएको थियो ।

सव–डिभिजन वन कार्यालय, सुखडको नियमित गस्तीले राष्ट्रिय वनमा वेवारिसे अवस्थामा फेला परेको करिव एक सय एक दशमलव सात क्यूफिटको चार गोलीया सालको काठ बरामद गरिएको सव–डिभिजन वन कार्यालय, सुखडका प्रमुख समिर थापाले जानकारी दिए ।

वैशाख ८ गते कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्लेबिसौनास्थित चन्चल भनिने बन्दुक धनी चन्द्रराज गिरीको घरबाट प्रहरीले लुकाईछिपाई राखेको अवस्थामा ३६.९ क्युफिट सालको काठ समेत बरामद गरेको जनाइएको छ ।
त्यस्तै, बैशाख ५ गते गौरीगंगा नगरपालिका वडा नम्बर ३ राजीवुढामा रहेको राष्ट्रिय वनबाट एक सय ६० थान सालको चिरान काठ वरामद गरिएको थियो ।
चैत २९ मा कैलालीको घोडाघोडी नगरपालिका १० आमखैया जंगलबाट अवैध काठ तस्करी भईरहेको सूचनाका आधारमा गएको सशस्त्र प्रहरी बलको टोलीले दुई गोलिया काठ बरामद गरेको थियो । उक्त काठ ईलाका वन कार्यालय पहलमानपुरलाई बुझएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणले जनायो ।

चैत २७ गते तस्करीमा संग्लन गोदावरी १२ हलौडेका नरीबहादुर साउद पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले भने, ‘साउदको घरमा अबैध चिरान काठ तथा काठको गोलियाहरू लुकाई राखेको खबर प्राप्त भएपछि गएको टोलीले चेकजाँच गर्दा उनको घर छेउ तथा गोठमा चिरान कडी, चौपट, सिल्ली, तक्ता र तीन थान गोलिया गरी एक सय २१ क्युफिट काठ बरामद भएको हो ।’

चैत २० गते भजनी नगरपालिका वडा नम्बर ३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलीया भेटिएका थिए ।

यस्तै, बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ मा रहेको पुरैना सामुदायिक वनमा काठ काट्दै गरेका ६ जनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए । स्थानीयका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका सुरेन्द्र चौधरी लगायतलाई रंगेहात पक्राउ गरिएको थियो । समितिले उनीहरूलाई १४ हजार ७ सय जरिवाना गरेर छाडेको थियो ।

त्यस्तै बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ का भेषराज जैशीलाई मोटरसाइकलमा सालको कडी बोकिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका थिए । पक्राउ परेका जैशी मोटरसाइकल र सालका कडी छोडेर स्थानीयको नियन्त्रणबाट भागेका थिए । उनले छाडेको मोटरसाइकल र सालका कडी स्थानीयले इलाका प्रहरी कार्यालय बौनीयाँको जिम्मा लगाएको स्थानीयले जनाएका छन् ।

डिभिजन वन कार्यालय प्रमुख कँडेलका अनुसार गाउँलेहरू फूर्सदमा भएकोले थोरैथारै काठ चोरी निकासी गरेर आफूले पनि प्रयोग गर्ने अरुलाई पनि वेच्न खोजेको देखिन्छ ।

डढेलोको जोखिम

हरेक वर्ष गर्मि मौसममा कैलालीका राष्ट्रिय, साझेदारी, सामुदायिक तथा नीजि वनमा डढेलोको जोखिम रहने गरेको छ ।

बसन्त ऋतुमा प्रकृतिले नौलो काचुले फेर्ने भएकाले रुखहरूका पातहरू सुकेर तल झरेका हुन्छन । कुनै पनि व्यक्ति वा प्राकृतिक कारणले आँगो ती पातमा परे वनभित्र फैलने जोखिम रहन्छ ।

डिभिजन वन कार्यालयका प्रमुख कँडेलले लकडाउनका कारण वन डढेलो नियन्त्रणका लागि पनि काम अघि बढाउन नसकिएको बताए । उनले अहिले सामान्य वर्षाका कारण वन डढेलो नभएपनि जोखिम भने रहेको बताए ।

उनले भने –‘अहिले सञ्चार माध्यमबाट डढेलोसम्बन्धी सन्देश प्रवाह भइरहेको छ । केही सामुदायिक वनमा सामाग्री वितरण भएका छन भने केहीमा सामाग्री वितरण गर्न बाँकी रहेको छ ।’ उनले विगतमा डढेलो नियन्त्रणका लागि जनचेतनामुलक अभियानसंगै विभिन्न गतिविधी गरिने गरेको बताए ।

अतिक्रमण नियन्त्रणमा चुनौति

कैलाली जिल्ला विगतदेखि नै तिब्र वन अतिक्रमणको चपेटामा परेको जिल्ला हो । डिभिजन वन कार्यालयले यस वर्ष अतिक्रमण हटाउने तथा अतिक्रमण क्षेत्रको लगत संकलन गर्ने कार्यक्रम गरेको रहेको छ । सरकारले जारी गरेको लकडाउनका कारण कार्यालयले यस कामलाई पनि प्रभावकारी रुपमा अघि बढाउन नसकेको जनाएको छ ।

माघमा शितलहर र हुस्सुको कारण देखाउँदै पछि हटेको डिभिजन कार्यालय अहिले लकडाउनका कारण अतिक्रमण हटाउ अभियानलाई अघि बढाउन नसकिएको प्रमुख रामचन्द्र कँडेलले बताए ।

डिभिजन वन कार्यालयले त्यस समयमा वन क्षेत्रभित्र रहेका भौतिक संरचनाहरू एक हप्ताभित्र हटाउन पत्राचार गरेको थियो । तर, त्यसयता कार्यालयले कुनै पनि प्रक्रिया अघि बढाउन सकेको छैन ।

उनले भने– ‘जिल्लाभरीका सबै वन कुनै न कुनै कारणबाट अतिक्रमणमा रहेका छन् । कतै सुकुम्वासी, कतै मन्दिर, कतै संघ÷संस्थाका भवन, कतै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय वनभित्रै निर्माण गरिएका छन् ।’

उनले एक दुई दिनमै लकडाउन नखुलेपनि अतिक्रमण हटाउने काम अघि बढ्ने बताए ।

उनका अनुसार कैलालीमा दुई वर्षअघि २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको थियो । अहिले यो संख्या बढेर २५ हजार हेक्टर बढि वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । उनले वन कार्यालयले अतिक्रमित क्षेत्रको नक्सांकन गर्ने काम अघि बढाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार