वैशाखमा आएको बाढीले वगरखेती नष्ट
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/04/Bagar.jpg?resize=607%2C276&ssl=1)
कृष्णपुर, वैशाख १५ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ र ३ का साथै लालझाडी गाउँपालिकाको वगरमा लगाइएको तरकारी खेती आइतबार र सोमबार आएको बाढीले नष्ट गरेको छ ।
लगातार पानी परेपछि आएको बाढीले मछेली, दोधा, वनहरा नदीमा लगाएको बगरखेती नष्ट भएको सुदूरपश्चिम प्रदेश सभाका सांसद महेश जोशीले बताए ।
सांसद जोशीका अनुसार झण्डै दुई सय हेक्टरमा लगाइएको वगरखेती बाढीले बगाउदा झण्डै एक सय परिवारको आम्दानी गुमेको छ ।
वगरखेतीमा काक्रा, खुर्सानी, प्याज, गोलभेडा, करेला, तरभुजा, भिण्डी, टामटर, लौकी र फर्सी लगायतका वेमौसमी तरकारी लगाइएको थियो ।
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/04/Bagar-1.jpg?resize=720%2C400&ssl=1)
किसानहरुले माघदेखि लगाएको वगरखेतीको उत्पादन चैतदेखि असारसम्ममा वेच्ने गर्दथे । लकडाउनका कारण पछिल्लो समय धेरै किसानले वगरखेती गरेका थिए ।
सो खेती गर्न कतिपयले सहकारीबाट ऋण समेत लिएका थिए सांसद जोशीले बताए । विगतमा वैशाखमा पानी वा वाढी समेत आउदैनथ्यो सोही कारण केही किसानले चैतमा तरकारी लगाएका थिए ।
तरकारीमा क्षति पुगेपछि सो क्षेत्रमा तरकारीको ठूलो अभाव हुने भएको छ । किसानहरुले कृषि मन्त्रालयले क्षतिपूर्ति दिनु पर्ने माग गरिहरहेको पनि सांसद जोशीले बताए ।
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/04/bagar-3.jpg?resize=720%2C350&ssl=1)